तस्वीर:प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठक ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिने उद्देश्यले चैत्र ११ गतेदेखि जारी गरेको लकडाउनको समयावधि आगामी जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणमा तेस्रो चरणमा रहेको नेपालमा ह्वात्तै बढेर संक्रमण भयावह हुनुको साथै सरकारी निकाय र स्वास्थ्य संस्थाको कमजोरीका कारण शनिबार र आइतबार गरी दुई जनाको निधन भएपछि आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको समय थप्ने निर्णय गरेको हो।

सरकारले गरेको निर्णयसँगै नेपालमा कोरोना संक्रमणको त्राससँगै गरिव तथा विपन्न जनतामाथि दैनिक जीवन यापनको थप संकट बढ्ने भएको छ।

शनिबार सिन्धुपाल्चोककी एक सुत्केरी महिला र आइतबार बाँकेका एक युवकको कोरोनाबाट मृत्यु भएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरिय समितिले लकडाउनको अवधि लम्ब्याउन सरकारलाई सिफारिस गरेको थियो।