कपिलबस्तु प्रहरीले मोष्ट वाण्टेडको सुचीमा राखेको फरार अभियुक्त नसिम अहमद मुसलमान उर्फ बाद्शाहलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको छ ।

२०६३ जेठ १९ गते जिल्लाको मायादेवी गाउपालिका ३ फुलिका बस्ने धर्मराज बरईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको, २०६४ बैशाख १७ गते कपिलबस्तु नगरपालिका १ बस्ने सन्दीप कुमार गुप्ताको जीप रोकी हतियार देखाएर २ लाख लुटेका लगाएतका अभियोग लागेका फरार अभियुक्त नसिम बादशाहलाई काठमाण्डौवाट पक्राउ गरी कपिलबस्तु ल्याइएको कपिलबस्तु प्रहरीले जनाएको हो ।

नसिमलाई कपिलवस्तुमा नसिम वादशाह भनिन्छ भने उनले अनौपचारीक कुराकानीमा आफुलाई वादशाह नै भन्ने गरेका थिए । कपिलवस्तु प्रहरीले मोष्टवाण्टेड सूचीमा राखेका नसिम काठमाण्डौमा १० दिनदेखि वस्दै आएका थिए ।

विभिन्न हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका उनी सिआईविको टोलीवाट शुक्रबार राती पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिप समसेर जबराले बताएका छन्।

विगतमा विभिन्न शसस्त्र समुहमा रहेर घटना घटाएका बादशाह तराईका शसस्त्र समुहसंग राज्यले गरेको वार्ताका पहलमा हतियार बुझाएर सार्वजनिक भएका थिए । तर उनी माथि विभिन्न जघन्य अपराधका मुद्धा दर्ता भएको र ती मुद्धाको सिलसिलामा प्रहरीले पुनः पक्राउ गर्ने संकेत पाएपछि उनी ३ वर्ष अघि एक सार्वजनिक कार्यक्रममा प्रहरी उपरीक्षक र प्रजिअकै सामुन्नेवाट स्थानीय नागरिकको घेरावन्दीमा पुनः फरार भएका थिए।

तत्पश्चात उनी भारतमा वस्दै आएका थिए । एक वर्ष अघि कपिलबस्तुको मायादेवी गाउपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष फत्ते मोहमदका ७ वर्षिय छोरा आयान खानको एकवर्ष अघि हत्या गरेको समेत बाद्शाह माथी अभियोग लागेको छ ।