शनिबार अपरान्ह उपत्यकावासीलाई नै त्रास दिने गरी भुकम्पको झड्का गएको छ।

अपरान्ह ४ः१५ बजे भक्तपुरको सल्लाघारीलाई केन्द्रविन्दु बनाएर ४ः६ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।
उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका नागरिकहरुले अपरान्ह एक्कासी भुकम्पको झड्का ठूलै महसुस गरेपछि घरबाट बाहिर भागेका थिए।

भुकम्प मापन केन्द्रले आजको भुकम्पको झड्का नयाँ नभई ०७२ वैशाख १२ गतेकै भुकम्पको पराकम्प भएको बताएको छ।

खासगरी बिहीबार र शुक्रबारमात्रै अमेरिकाको क्यालिफोर्नियामा ६ रेक्टर स्केलभन्दा बढिको भुकम्प आएको थाहा पाएका उपत्यकावासीहरुमा शनिबारको भुकम्पले त्रास फैलाएको थियो।

काठमाडौंका कतिपय स्थानमा झमझमी वर्षात भइरहेकै बेलामा भुकम्पको झड्का आएपछि मानिसहरु घरबाट झरीमा भिज्दै सडकमा पुगेका थिए।