प्रधानमन्त्री केपी शर्मा ओली बिहिबार बालुवाटरमा चिनियाँ राष्ट्रपति सि चिङपीङको आशन्न राजकीय भ्रमणका सन्दर्भमा पूर्व प्रधानमन्त्री एवं पूर्व पराष्ट्रमन्त्री लगायतसंग छलफल गर्दै । तस्वीर ः चन्द्रकला क्षेत्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूभागमाथि भारतीय अतिक्रमण र कोरोना संक्रमण लगायतको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह साढे ४ बजे पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुलाई सर्वदलीय बैठकमा बोलाएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने उक्त बैठकमा यसअघि लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर भारतले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेलगत्तै बसेको सर्वदलीय वैठकमा छलफल गरिएको थियो।

जसमा प्रमुख प्रतिपक्षी दलको नेता देउवासहित सबै दलका प्रतिनिधि तथा पूर्व प्रधानमन्त्रीहरुले सरकारले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियताको संरक्षणका लागि लिनु कुनै पनि कुटनीतिक कदमप्रति आफूहरुको साथ र समथृन रहने आश्वासन दिएका थिए।

तर, विगत चार÷पाँच महिनाको समयमा सरकारले यसबारे खासै पहल नचालेपछि पुनः भारतले उक्त भूभागबाट मानसरोवर जाने सडक निर्माण गरेपछि सरकारले सर्वदलीय बैठक बोलाएको हो।

आजको बैठकमा विपक्षी दलका नेताहरुले सरकारको नेतृत्वले कुरा मात्रै गरेर समय व्यथित गरेको कारण एक पछि अर्को समस्यामा मुलुक र जनता परिरहेको अवस्थामा सरकारसँग यस्ता छलफलको औचित्यमाथि प्रश्न उठाउने तयारी गरिरहेको स्रोतको दाबी छ।