नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा भएको सहमति र सम्झदारीलाई इमान्दरपूर्वक कार्यान्वयन गर्दै महाधिवेसनसम्म जानुपर्ने बताएका छन्।

सोमबार पार्टी कार्यालय धुम्रबाराहीमा आयोजित शहीद रितवहादुर खडकाको स्मृति दिवस कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले इमान्दारिताका साथ पार्टी एकतालाई सुदृढ् गर्ने, पार्टी एकताका बाँकी कामलाई टुंग्याउने र भएका सहमति समझदारीमा इमान्दारिताका साथ उभिनुपर्नेमा जोड दिए।

उनले महाधिवेशनसम्म जाँदा नेकपाको विचार र कार्यक्रम थप परिमार्जित र परिस्कृत हुने समेत बताए।

उनले माक्र्सवादको निर्देशन अनुसार पार्टी एकता भएर समाजवादको प्रक्रियाबाट अगाडि बढेका कारण निराश हुनुपर्ने अवस्थामा कम्युनिष्ट पार्टी नरहेको दाबी गरे।

उनले पार्टी एकताको क्रममा सहमति भएको पार्टीको भावी कार्यक्रम ‘जनताको जनवाद’ र अन्य सहमतिहरुलाई ईमान्दारपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड समेत दिए।

पार्टी एकता गर्दा तयार भएको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादले समाज रुपान्तरणका लागि खेलेको सकारात्मक भूमिकाको मूल्यांकन गरिएको उनले बताए।

नेकपाले तत्कालिन माओवादीका केन्द्रिय सदस्य समेत रहेका शहीद रितवहादुर खडकाको स्मृति दिवसमा देशभर विविध कार्यक्रम गरी मनाएको हो।

२०२८ साल भदौ १० गते दोलखाको जुँगूमा जन्मिएका रितबहादुर खड्का (प्रताप) को २०५९ साल असार २ गते ३१ बर्षको उमेरमा हत्या भएको थियो।