नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्माओलीले नक्कली राष्ट्रवाद देखाएर जनताका आँखामा छारो हाल्ने काम गरेको आरोप लगाएका छन्।

जननायक एवम् नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोईरालाको ३८ औं बीपी स्मृति दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको जुम मिटिङ्मा प्रमुख अतिथिका रुपमा आफ्नो विचार राख्दैं नेता गिरीले वास्तविक राष्ट्रवाद के हो बीपी कोईरालाबाट सिक्नुपर्ने धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानवाद र लोकतन्त्रको धज्जी उडाएको बताउँदै पार्टीभित्र छलफल नगरी सभामुखलाई नसोधी संसद अन्त्य गर्न कुन संसदीय व्यवस्थामा पाईन्छ भन्दैं नेता गिरीले प्रश्न गरेका छन् । राष्ट्रपति निवास शीतलनिवास संविधानवादको रक्षक बन्नुपर्ने तर केपी ओलीको मात्र रक्षक बनेको उनको आरोप छ ।

 प्रधानमन्त्री ओलीले यो पास गर्दिनुस्, यो स्वीकृत गर्दिनुस् भन्ने बित्तिकै पास गर्दिनुले संविधानवाद र लोकतन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताउँदै नेता गिरीले भने, ‘प्रधानमन्त्रीले सिफारिस गरेको सामान्य कागज पढ्न पनि नभ्याउँदै दस्तखत गर्छन्, राष्ट्रपतिको यो गतिविधिले प्रश्न चिह्न उठ्नेगरी आफूलाई संविधानको होइन प्रधानमन्त्रीको रक्षकको रुपमा पेश गर्नुभएको छ ।’

‘बीपीको राष्ट्रवादलाई बुझ्नका लागि संसारका राष्ट्रवादलाई अनेक भागमा बाँड्न सकिन्छ, एउटा जनतालाई बलियो भन्ने राष्ट्रवाद र अर्को राजालाई बलियो भन्ने राष्ट्रवाद’ उनले भने ।  वर्तमान सरकारले कहिले नक्सा बाण, कहिले नागरिकता विधेयक अस्त्र त कहिले रामवाण देखाएर जनतालाई झुक्याउन खोजेको, जनता रोग, भोग, नाना, माना र छानाको समस्याबाट गुज्रिरहेका बेला फलानो देशलाई देखाईदिन्छु भन्ने कुरा कुनै पनि कोणबाट सच्चा राष्ट्रवाद नभएको नेता गिरीको भनाई थियो ।

बीपीले लोकतन्त्र भनेर नहुने यसलाई व्यवहारमा देखाउनुपर्ने धारणा राख्ने गरेको उनले बताए । बीपीको विचार व्यापक र बहुआयामिक भएको बताउदैं नेता गिरीले भने, ‘साहित्यमा, कलामा, संस्कृतमा, राजनीति आदिमा बीपीको अविस्मरणीय योगदान रहेको छ ।’

उक्त जुम मिटिङको सहजीकरण स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले गरेका थिए भने कांग्रेस नेता मिन विश्वकर्मा, नेतृ पुष्पा भुषाल, ७७ वटै जिल्लाबाट स्कुल अफ डेमोक्रेसीका प्रतिनिधी लगायतले आफ्नो भनाई राख्दै सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here