पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गरेका छन्। शनिबार पीडितको घरमा पुगेर उनले बालिका थापालाई कक्षा १२ सम्म अध्ययन गराउने व्यवस्था मिलाउने जानकारी दिए।

अमिना सोही वडाको बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन्। गत असार २९ गतेको पहिरोले पुरिएर बालिकाको बुवा ३० वर्षीय भेषबहादुर थापा र आमा २९ वर्षीया नानुमाया थापाको अकालमा निधन भएको थियो । पहिरोले पुरिएर अमिनाकी बहिनी पाँच वर्षीया अमिषा थापा, काका वर्षीय महादेव थाापा र काकी १९ वर्षीया मनिसरा थापाको समेत निधन भएको थियो ।

काँग्रेस केन्द्रीय सदस्य पौडेलले पहिराले पुरिएर एकै परिवारका पाँच जनाको निधन भएको घटना दुःखद् रहेको र शोकको घडीलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गरे।

यसैगरी तनहुँ युवा सञ्जाल र नेपाल रेडक्रस सोसाइटी कोटदरबारको सक्रियतामा अमिनाको शिक्षामा सहयोग पुर्‍याउन दुई लाख २१ हजार २५ सङ्कलन भएको छ । उक्त रकम अमिनाको बैंक खाता खोली जम्मा गरिने सोसाइटीका उपशाखाका सभापति इन्द्रबहादुर आलेले जानकारी दिए। अमिनाको स्याहारसुसार हाल हजुरबुवा आम्बबहादुर थापाले गर्दै आएका छन्। भैँसीकिलेमा थापा परिवारको चार घर बसोबास गर्दै आएको छ । उक्त ठाउँ पहिरोको जोखिममा रहेकाले ऋषिङ गाउँपालिकाले पीडित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न पहल गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।

मध्यरातमा राजमार्ग एकतर्फी सञ्चालन

मर्मतकार्य जारी रहेर शनिबार बिहानैदेखि अवरुद्ध रहेको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्ड गएरातिदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको छ । राजमार्ग अवरुद्ध भएर दिउँसोदेखि नै सडकमै रोकिएका यात्रु गन्तव्यतर्फ लागेका छन् ।

पहिलो चरणमा दमौलीतर्फबाट गएका सवारी र दोस्रो चरणमा डुम्रेतर्फबाट आएका सवारीलाई गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । उक्त सडकखण्ड आइतबारसम्ममा दुईतर्फी सञ्चालनमा आउने बताइएको छ । साउन ६ गते सडक भासिएर पटक–पटक अवरुद्ध हुँदै आएको राजमार्ग शनिबार बिहानैदेखि बन्द गरेर मर्मतको काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर सचिन श्रेष्ठले भत्किएको सडकखण्डमा ग्याविनजाली भरेर सडक सञ्चालन गर्ने काम भइरहेको जानकारी दिए। काम नसकिएकाले आइतबारसम्ममा सडक दुईतर्फीरूपमा सञ्चालनमा आउन सक्ने उनले बताए।

शनिबार नै उक्त सडकखण्डमा एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधनलाई भने आवतजावतमा सहज बनाइएको थियो । निरन्तर परेको वर्षाका कारण मङ्गलबार सडक नै भासिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ। सडक भासिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेपछि दिगोरूपमा नै सडक मर्मतको काम शुरु गरिएको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here