प्रहरीले मंगलबार काठमाडौंमा आधा किलो सुन र साढे १४ किलो चादी बरामद गरेको छ । काठमाडौंको कमलादीबाट सुन भनेर बरामद गरिएको १५ किलो पहेंलो धातुमध्ये आधा किलो मात्र सुन भएको महानगरिय प्रहरी परिसरले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

कमलादीस्थित कृष्ण पाउरोटी चोकमा सवारी जाँचका क्रममा बा.६च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा गाडी नरोकेर गाडीमा सवार व्यक्तिले झोला फालेर फरार भएका थिए । झोलामा प्रहरीले १५ किलो सुनजस्तो देखिने धातु र दुईथान पेस्तोल बरामद गरेको थियो ।

पेस्तोलसँगै दुईथान म्याग्जिन पनि बरामद भएको थियो । सुन भनेर बरामद गरेको उक्त पहेंलो धातु साढे १४ किलो नक्कली सुन रहेको प्रहरीले जनाएको छ । १५ किलोमध्ये ५ सय ग्राम सुन र साढे १४ किलो चाँदीमा सुनको जलप लगाएको पाइएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले सुन भनेर ठग्नका लागि चाँदीमा जलप लगाएको हुनसक्ने बताए । घटनामा कोही पनि दोषी पक्राउ नपरेको र पक्राउ परेपछि थप रहस्य खुल्ने उनले जानकारी दिए ।

प्रहरीले १ केजी लेखिएको ८ थान, २५० ग्राम लेखिएको २६ थान र ५ सय ग्राम लेखिएको १ थान पहेलो धातु बरामद गरेको थियो । त्यस्तै प्रहरीले बरामद गरेको पेस्तोलमा म्यागजिन भएपनि गोली भने नभएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here