सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुशिल भट्टलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

विदेशी लगानी आकर्षण तथा सहजीकरणका लागि गठन भएको बोर्डको प्रमुख कार्यकारी खोज्नका लागि अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा समिति गठन भएको थियाे।

प्रस्ताव मूल्यांकन तथा अन्तर्वार्ताको माध्यमबाट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो।

बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको समितिले सिइओ नियुक्तिका लागि सुशिल भट्ट, डा‍. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम सिफारिस गरेको थियो।

यी मध्येबाट मन्त्रिपरिषको बैठकले भट्टलाई सिइओमा नियुक्त गरेको हो।

भट्ट योजना आयोगकको पूर्वाधार हेर्ने सदस्य थिए। बैंकिङ तथा परामर्श क्षेत्रमा विगतको अनुभव भएका भट्ट नेपाल व्यवस्थापन संघका अध्यक्ष पनि भइसकेका छन्।

पूर्वाधार आयोजनाका लागि परामर्शदाताको रुपमा पनि काम गरेको अनुभव भएका भट्टको विशेषज्ञता ग्रामिण विद्युतीकरणमा रहेको छ।

यसअघि सिइओ रहेका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि साे पद खाली रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here