रोमन इतिहासमा सबैभन्दा चर्चित पात्र हुन्ः सम्राट निरो। कुनै पनि देशको शासन सत्तामा रहेका शासकहरुको अनुत्तरदायी गतिविधिको आलोचना गर्नु पर्दा सत्ता विरोधीहरुले निरोको स्मरण गर्ने र उनीसँग आफ्नो देशको शासकको तुलना गर्ने गर्दछन्।

यसरी निरोको स्मरण गर्नुको कारण हो, जतिबेला प्राचिन शहर रोम आगो लागेर जलिरहेको थियो त्यतिबेला संकटमा परेका जनताको उद्दार तथा राहतका लागि राज्य संयन्त्रको परिचालन गर्न छाडेर संम्राट निरो आफ्नो दरबारमा बाँसुरी बजाएर मस्तसँग बसिरहेका थिए।

पछिल्लो समय नेपालको संत्ता संचालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय आलोचकहरुले सदनदेखि सडकसम्ममा पुगेर उनको गतिविधिलाई रोमन संम्राट निरो जस्तै भनि आलोचना गर्ने गरिरहेका पनि छन्।

यसरी उनका आलोचकहरुले प्रधानमन्त्री ओलीको आलोचना गरिरहँदा ओलीका समर्थकहरुले उनको बचाउका लागि सामाजिक सञ्जालमार्फत आक्रामक शैलीमा प्रतिबाद पनि गर्ने गरिरहेका छन्।

तर, पछिल्लो समय इतिहासकै सम्भवत् सबैभन्दा बलशाली र शक्तिशाली प्रधानमन्त्री ओली र उनको नेतृत्वमा रहेको सरकारले कोरोना भाइरसको महामारीबाट देश र जनतालाई बचाउन विश्वसनीय र अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दा सत्ता राजनीतिको आन्तरिक द्वन्द्धमा अल्झिएर देश र जनतामा भय र त्राससँगै निराशा बनाइरहेका छन्।

त्यहिबीचमा स्वास्थ्य मन्त्रालयको सुझाव र गृह मन्त्रालयको निर्देशनमा आम सर्वसाधारणलाई महामारीको संक्रमणबाट बच्न विभिन्न निर्देशन जारी गर्दै त्यसको पालना नगर्नेहरुलाई कानून बमोजिमको सजाय गर्ने गराउने कार्य पनि भइरहेको छ।

त्यसमध्ये पहिलो निर्देशन हो, कहीँ, कतै सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्क तथा नियमित सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने तथा २५ जना भन्दा बढी मानिसहरु भेला भएर कुनै पनि कार्यक्रम नगर्ने।
तर, प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा भने कहिले पार्टीको स्थायी कमिटी बैठक त कहिले आफ्नो पक्षका व्यक्तिहरुद्वारा सञ्चालित संस्थाको नाममा आयोजित सार्वजनिक कार्यक्रममार्फत आफ्ना विरोधीहरु विरुद्ध विष वमन गर्ने कार्यले निरन्तरता पाइरहेको छ।

त्यतिले नपुगेर, शनिबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुर सुधा कार्यक्रमको आयोजना गरी नाँच, गान र बजानले प्रधानमन्त्री ओली, मुख्य सचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालसहितका उच्चपदस्थ पदाधिकारीले रंगिन साँझ विताए।

नेपाल र मित्र राष्ट्र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठको अवसरमा शनिबार प्रधानमन्त्री निवासको सभाहलमा विशेष कार्यक्रमसहितको सुर सुधाको आयोजना गरियो।

पछिल्लो समय देशभरी कोरोना भाइरसका संक्रमितहरुको संख्यासँगै दिनहुँ जसो मृत्यु हुनेको संख्यामा पनि निरन्तर बृद्धि हुँदा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिएको आशंकामा स्वास्थ्यकर्मीसँगै आम जनता आतंकित भइरहेका छन्। संकटको बेला जनताले राज्यको गम्भीर पहल कदमीसँग अभिभावकीय भूमिका खोजिरहे पनि प्रधानमन्त्री ओलीकै निवासभित्र सुर सुधा र नाँच, गान, बजानले रोमन संम्राट निरोको तिर्सना मेटाएको छ।

अगस्ट १ तारिखमा आयोजित कार्यक्रममा स–परिवार उपस्थित मुख्य सचिव लोकदर्शन रेग्मी, सल्लाहकार विष्णु रिमालदेखि कार्यक्रममा उपस्थित व्यक्तिहरुले खुट्टामा प्लाष्टिकको डिस्पोजेबल कभर लगाए पनि कसैले पनि सामूहिक फोटो खिच्दा न त सामाजिक दुरी कायम गरेका छन् न त मास्क नै लगाएका छन्।

सायद, कार्यक्रममा सहभागी अतिथि लगायत सबैमा प्रधानमन्त्री ओलीले दिँदै आएको दिव्य उपदेश, ज्ञान, दर्शनको प्रभावसँगै ‘वेसार, तातोपानी खाउँ, रुघा लागे हाच्छ्युँ गरेर कोरोना भगाउँ’ भन्ने मुल मन्त्रले बलियो आत्म विश्वास दिलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here