पार्टी फुट्न नदिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसदहरुले नेतृत्वलाई दवाव दिएका छन् । नेकपाका सांसदले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै पार्टी फुट्नु कुनै हालतमा उचित नभएको भन्दै हस्ताक्षर अभियान चलाएको जनाएका हुन् ।

पार्टीभित्र देखिएको संकट समाधानको लागि नेतृत्व तहलाई दबब दिन र पार्टी एकतालाई थप सुदृढ बनाउन कतै विभक्त नभई एकताको पक्षमा उभिएका र हस्ताक्षर गरी प्रतिवद्धता जनाएको उनीहरुले बताएका छन् । पार्टीको एकता प्रक्रिया पूरा नहुँदै विभाजन हुने खतरा बढेर गएको भन्दै उनीहरुले त्यसप्रति गम्भीर चिन्ता पनि व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा सांसद विशाल भट्टराईले पार्टीलाई एक गर्न अहिले हस्ताक्षर अभियान सञ्चालन गरेको बताए । उनले आवश्यक परे पार्टी कार्यालय र नेताहरुको घरघरमा धर्ना दिने समेत बताए ।

त्यस्तै सांसद यज्ञराज सुनुवारले एक ठाउँमा बसेर विधि, प्रक्रिया र प्रणालीभित्र बसेर पार्टीत्रिको समस्या समाधान गर्नुपर्ने बताए । त्यस्तै, सांसद रामकुमारी झाँक्रीले अहिले पार्टी विभाजन गरेर फेरि यस्तै ठूलो पार्टी निर्माण गर्न कठिनाइ हुने तर्क गरिन् । पार्टी वैचारिकरुपमा स्खलित भएको र पार्टीको नीति, कार्यक्रम र व्यवहार दक्षिणपन्थी बाटोमा लागेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

सांसदहरुले कोरोनाले अर्थतन्त्रमा पारेको गम्भीर नकारात्मक असरलाई न्यूनीकरण गर्ने कार्यक्रमलाई प्रथमिकता दिँदै प्रभावकारी रोकथाम र नियन्त्रणका लागि कदम चाल्नुपर्ने पनि धारणा राखेका थिए केन्द्रीय सचिवालयका नेताहरू, स्थायी कमिटी सदस्य र मन्त्रीहरूबाहेकले एकताको दबाबका लागि हस्ताक्षर गरेका छन् । अभियानमा ६१ जना सांसदहरूले हस्ताक्षर गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here