विश्वभर महामारीका रुपमा फैलिएको कारोना भाइरसले सिंगो मानव समाजलाई नै आक्रान्त पारिरहेको बेला नेपाल र भारतका सत्तासीन दलका जिम्मेवार अधिकारीले धर्मर राष्ट्रवादको विवाद झिकेर अनावश्यक विवाद चर्काएपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले यसलाई छट्टु स्याल र चीलको कथा स्मरण गराएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उत्तरप्रदेशको आयोध्यास्थित राम जन्मभूमिमा भूमिपूजा गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ठोरीमा राम जन्मभूमि निर्माणको निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो।

त्यसको प्रतिवाद गर्ने क्रममा भारतका विदेशमन्त्री एस जयशंकरले बुद्ध भारतमा जन्मिएको भनि दिएकोे विवादस्पद सार्वजनिक अभिव्यक्तिले दुई देशबीचको आपसी द्वन्द्धलाई थप उत्कर्सतिर धकेलिरहेको छ।

यसरी महामारीकाबीचमा जनतालाई संक्रमणबाट जोगाउने भन्दा अन्य विषयमा सरकारकै प्रतिनिधिहरु संलग्न भएपछि जनता समाजवादी पार्टी नेपालका नेता भट्टराईले आइतबार सामाजिक संजालमार्फत आक्रोस पोखेका हुन्।

उनले दुबै देशका सरकारी अधिकारीहरुको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिलाई छट्टु स्यालको संज्ञा दिएर यसको मारमा नेपाल र भारतका जनता पर्ने खतरा बढेको संकेत गरेका छन्। साथै उनले धर्म र राष्ट्रवादको ककटेल (मिश्रण)ले जनता लठ्ठिने अवस्था आउँदा स्यालले त्यही मौकामा के के चोर्ने हुन् भनि खबरदारी पनि गरेका छन्।

आफ्नो ट्वीटरमार्फत भट्टराईले भनेका छन्, ‘छट्टु स्याल चील आयो भनेर कराउँथ्यो, गाउँले आकाशतिर हेर्न थालेपछि भूइँबाट कुखुरा चोरेर भाग्थ्यो! यताकाले राम यतै जन्मेका हुन् भनेर चिच्याए, उताकाले बुद्ध उतै जन्मेका हुन् भनेर फर्काए। अब यो धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भए। छट्टु स्यालले के के चोर्ने हुन्! होशियार!’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here