नेपाली कांग्रेसले महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि अबिलम्ब कदम चाल्न सरकारको ध्यानकर्षण गराएको छ । कांग्रेसको कोभिड—१९ अनुगमन समितिले सोमबार सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारलाई कोरोना नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कार्यका बारेमा विभिन्न १३ बुँदे सुझाव समेत दिएको छ । मुलुकमा कोरोना महामारी भएपनि नेकपाको सरकार सत्ताको खिचातानीमा रमाइरहेको समितिको आरोप छ ।

पत्रकार स्म्मेलनमा समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री डा प्रकाशरण महत्तले भ्रष्टाचार, अनियमितता, दुरुपयोगको पर्याय बनेको वर्तमान सरकार विचौलियातन्त्रको कठपुतली बनेको आरोप लगाए । समितिले सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाईका साथ व्यस्थापन गर्नुपर्ने, संक्रमण समुदायमा गैसकेको स्थिति भएकोले सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा व्यापक बनाउन सुझाव दिएको छ ।

समुदायमा संक्रमण विस्तार सँगै ज्येष्ठ नागरिकहरु संक्रमित हुँदा मृत्यु दर बढ्दो रहेको भन्दै संयोजक महत्तले तत्काल निजी अस्पतालहरुलाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाउन पनि माग गरे ।

खाडी देशहरुमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने र आर्थिक अभावमा ठूलो संकट झेलिरहेका नागरिकहरुलाई सहयोग पु¥याउन सम्बन्धित कुटनैतिक निकायहरुलाई परिचालन गर्न पनि समितिले सरकारसँग माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here