नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी प्रमुखमा कुलमान घिसिङको पुनर्नियुक्तिको विषयमा सामाजिक संजालमा समर्थनको बाढी चलिरहेकै बेला सरकारले उनको नियुक्तिबारे कुनै छलफल नभएको स्पष्टिकरण दिएको छ।

विगत लामो समयदेखि आम जनताले व्यहोर्दै आएको दैनिक २१ घण्टासम्मको लोडसेडिङ अन्त्यका लागि भारतबाट अतिरिक्त विद्युत आपूर्तिसँगै चुहावटमा नियन्त्रण गरेर जनतालाई राहत दिएको जस पाएका घिसिङको केही दिनदेखि पुनर्नियुक्तिको विषय जनचासोको विषय बनेको छ।

कतिपय अनलाइनदेखि सामाजिक संजाल प्रयोगकर्ताले समेत उनको पुनःनियुक्ति भएको भन्दै सरकारलाई धन्यवाद तथा घिसिङलाई नयाँ कार्यकालको बधाई तथा सफलताको शुभकामना दिइरहेको बेला बिहिबार सरकारका प्रवक्ता एवं संचारमन्त्री युवराज खतिवडाले उक्त हल्लालाई हल्लैमा सिमित गरिदिए।

एक पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री खतिवडाले जवाफमा भने, ‘उहाँलाई सामाजिनक संजालले नै नियुक्ति दिएको होला, सरकारले त छैन। सामाजिक संजालले दिएको र्नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन तर, औपचारिक प्रस्ताव पनि छैन र त्यस सम्बन्धि छलफल पनि केही भएको होइन। त्यसैले त्यो लेखाई, बोलाई या सूचनामा कुनै सत्यता छैन।’

घिसिङको पुनर्नियुक्तिको पक्षमा सामाजिक संजालमा आएको समर्थनको बाढीप्रति कतिपय सत्ता र सत्तारुढ दलका नेता निकट व्यक्तिहरुले यसरी चलाइएको अभियानमा स्वयं घिसिङप्रति नै लाञ्छना लगाउँदै आफ्नो पक्षमा सामाजिक संजाल मार्फत दबाब दिने प्रयास गरेको आरोप समेत लगाइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here