मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी संकटको समयमा जनताको ज्यानको रक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

बिहिबार सर्लाहीमा आयोजित एक कार्यक्रममा कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारको कदम र अगामी दिनमा प्रदेश सरकारलाई चाल्नु पर्ने कदमबारे सरोकारबालाहरुसंग सुझाव लिन मुख्यमन्त्री राउतले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला अहिले नरहेको बताए ।

उनले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक पटक जिल्लामा रकम का साथै अन्य स्वास्थ्य उपकरण तथा सामग्री हरु पठाएपनि जिल्ला स्थित जिम्मेवारव्यक्तिहरुले सदुपयोग गर्न नसकेको गुनासो समेत गरे ।

प्रदेश सरकारले जिल्ला प्रशासन, अस्पताल लगायतलाई रकम उपलब्ध गराएपनि खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे । उनले हामीले गर्न सक्ने र हाम्रो क्षमताले भए सम्म कोरोना महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने समेत बताए । उनले जनअपेक्षा अनुरुप ८ वटै जिल्लामा पिसिआर संचालनका लागि प्रक्रिया शुरु भई सकेको उल्लेख गरे  ।

उनले भने, ‘रौतहटमा जडान प्रक्रिया शुरु भै सकेको छ । बाँकी रहेको जिल्लामा समेत १५ दिन भित्र पिसिआर मेसिन संचालनमा आउछ ।’

प्रत्येक जिल्लामा पठाइएको रकम कोरोना महामारी नियन्त्रणमा खर्च गर्न निर्देशन समेत दिए ।

यस कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले भेन्टिलेटरलाई अनावश्यक मुद्दा बनाइएको भन्दै उनले यसलाई गलत रुपमा प्रचार प्रसार नगर्न आग्रह गरे ।

भेन्टिलेटर गायतका उपकरणले मात्र कोरोनाबाट जोगिन नसकिने भन्दै मन्त्री साहले अनावश्यक मुद्दा नबनाउन पनि आग्रह गरे ।

‘कोरोनाबाट जोगिन ज्यादै ठूलो कुरा छैन्, सामाजिक दूरी कायम गर्नुस्, मास्क प्रयोग गर्नुस्, साबुन पानीले हात धुनुस्, कोरोना आफै भाग्छ,’ उनले अघि थप्दै भने, ‘यस्ता कुराहरु नगर्ने, तर भेन्टिलेटरको कुराहरु अनावश्यकरुपमा उठाउने, प्रदेश नम्बर २ मा भेन्टिलेटर फेसन बनिसकेको छ ।’

भेन्टिलेटर भएर मात्रै कोरोना संक्रमितलाई जोगाउन नसकिने उनले बताए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here