कोरोना भाइरसको संक्रमणबाट शुक्रबार जस्तै शनिबार पनि थप १२ जनाको ज्यान गएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा शुक्रबार भन्दै ४१ जना कम संक्रमित भएपति मृत्यु हुनेको संख्यामा कुनै परिवर्तन भएन।

स्वाथ्य मन्त्रालयले नियमित रुपमा गर्दै आएको पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार, देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा २४२ महिला र ६४२ पुरुष गरि थप ८८४ जनामा कोरोना पुष्टि भएको हो। यो संख्या शुक्रबार ९ सय २७ रहेको थियो।

त्यसैगरी पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बनेको काठमाडौं उपत्यकामा भने विगत केही दिन यता देखिएको संक्रमित संख्याको बृद्धिदरमा हल्का ब्रेक लागेको जस्तो देखिएको छ।

प्रवक्ता गौतमका अनुसार, विगत २४ घण्टामा काठमाडौं उपत्यकाका १८६ जना संक्रमित देखिएका छन्। यो संख्या शुक्रबार सबैभन्दा बढी ४ सय १५ रहेको थियो।

काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ जना, ललितपुरमा १९ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ। याो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ। शनिबार ३ सय १३ जना डिष्चार्ज भएका छन्। यसरी अहिलेसम्म कोरोनालाई जितेर घर फर्कन सफल हुने नागरिकहरुको संख्या २० हजार ५ सय ५५ पुगेको छ।

त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ। मत्यु हुनेमा पाल्पाकी ३० बर्षीया महिला, काठमाडौंकी ५१ बर्षीया महिला र भक्तपुरकी ७२ बर्षीया महिला छन्। त्यस्तै पर्साका ४८ र ४९ बर्षीय पुरुष, सिराहामा ८४ बर्षीय पुरुष, गोरखामा ३८ बर्षीय पुरुष, कास्कीमा ५८ बर्षीय पुरुष, काठमाडौंका ८३ बर्षीय पुरुष, ललितपुरका ७२ र ६१ बर्षीय पुरुष र भक्तपुरका ८२ बर्षीय पुरुष रहेको प्रवक्ता गौतमले बताए।

योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ७८ जना रहेका छन्। हाल क्वारेन्टाइनमा ७ हजार ३५ जना रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here