काठमाडौं | सरकारले लामो तथा छोटो दूरीका सवारी साधन आगामी भदौ मसान्तसम्म चलाउन नपाउने निर्णय गरेको छ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्‌को नियमित बैठकले आन्तरिक उडान, लामो, मध्यम तथा छोटो दूरी चल्ने सार्वजनिक बस सेवा, स्कुल–कलेजका परीक्षा, खेलकुद प्रशिक्षण आदि भदौ मसान्तपछि मात्रै खुला गर्ने निर्णय गरेको हो।

यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो।

कोरोना संक्रमण बढ्दै गएकाले काठमाडौं उपत्यकालगायत मुलुकका अधिकांश स्थानमा अहिले निषेधाज्ञाको अवस्था छ। लकडाउन सुरु भएको साढे ३ महिनापछि सरकारले गत असार २६ गतेदेखि छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो। तर आफ्ना माग सम्बोधन नभएको भन्दै यातायात व्यवशायीले तत्काल सेवा सुचारु गरेका थिएनन्।

माग सम्बोधन भएपछि उनीहरू साउन ७ गतेदेखि यातायात सन्चालन सुचारू गर्न सहमत भएका थिए। तर सरकारले लामो दुरीका सवारी सन्चालनमा भदौ १ गतेसम्म रोक लगाएको थियो। साउन ६ गते अन्त्य भएको लकडाउनपछि काठमाडौंसहित देशभर कोरोना संक्रमित बढेपछि सरकारले लामो दुरीका सवारी साधन सन्चालन भदौ १५ गतेसम्म रोक लगाएको थियो।

तर भदौको पहिलो सातादेखि काठमाडौं उपत्यकामा छोटो दुरीका सवारी साधन सन्चानलमा समेत रोक लगाएर पूर्ण रूपमा निषेधाज्ञा लागू गरिएको छ।

यद्यपी सरकारले शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान भने बुधबारदेखि सुरु गर्दै छ।

यस्तै आजको बैठकले रोजगार खुलाएका विभिन्‍न गन्तव्य मुलुकका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ।

रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय भएको हो।

त्यस्तै मन्त्रिपरिषद्को आजको बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित उडान केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ। यसबारेमा सम्बन्धित मन्त्रालयले कार्ययोजना तयार पार्ने बताइएको छ ।

यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने निर्णय गरेको थियो। दसैं, तिहार, छठ, इदलगायत पर्व नजिकिँदै गरेकाले यति सङ्ख्याले मात्रै नपुग्ने भएर नियमित उडान थप गर्न लागेको स्रोतले जानकारी दियो।

यस्तै सरकारले कुनै कम्पनीले शतप्रतिशत पीसीआर परीक्षण, टिकट शुल्क र क्वारेन्टिन खर्च बेहोर्ने भए ती कम्पनीका लागि पनि उडान थप गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।

यसो गर्दा उडान सङ्ख्या बढ्ने टिकटमा प्रतिस्पर्धा भएर भाडादर सस्तो हुने पनि मन्त्रिपरिषद् स्रोतले जानकारी दियो।

यस्तै मन्त्रिपरिषद्को आइतबारको बैठकले  सहसचिवद्वय उदय रानामगर र नवराज ढकाललाई महावाणिन्यदूत नियुक्त गरेको छ। रानामगरलाई हङकङ र ढकाललाई ल्हासाको महावाणिज्यदूतको जिम्मेवारी दिइएको छ। महावाणिज्यदूत नियुक्ति प्रक्रियाका लागि अघिल्लो मन्त्रिपरिषदले दुबैलाई परराष्ट्र मन्त्रालय सरुवा गरेको थियो।

सरुवाअघि रानामगर झापाका प्रमुख जिल्ला अधिकारी थिए। ढकाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here