काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले समयमै निकास नदिँदा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा दुखद घटना घटेको बताएका छन् ।

मछिन्द्रनाथको जात्रा मान्ने विषयमा स्थानीय जनता, गुठियारहरू सरकारसँग पाँच महिना यता संवादमा रहे पनि सरकारले वास्ता नगरेको अध्यक्ष राणाको भनाइ छ ।

सँस्कृति, सम्पदा, धर्म नेपाली हुनुको आधारशीला हो भन्दै स्थानीय र गुठियारलाई विश्वासमा लिएर चौध सय वर्ष पुरानो परम्परा कायम राख्न सरकारलाई राणाले आह्वान गरेका छन । झडपको क्रममा हिरासतमा लिइएका युवाहरूको अविलम्ब रिहाईको पनि माग गरेका छन् ।

‘रातो मछिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयहरू सरकारसँग पाँच महिनादेखि वार्तामा छन् । सरकारले समयमै निकास नदिँदा चौधसय वर्ष लामो परम्परा मान्ने क्रममा हिजो दुखद घटना घट्यो । कर्फ्यू त्यसैको बाध्यात्मक उपज हो, स्थायी समाधान होइन । रथ बनीसकेपछि जात्रा रोक्नु भएन,’ राणाले शुक्रबार ट्वीट गर्दै भने ।

‘सँस्कृति, सम्पदा, धर्म नेपाली हुनुको आधारशीला हो । यही सत्य मनन् गरेर समाधान दिन जनताद्वारा जनताको सरकारलाई आह्वान गर्दछु । स्थानीय र गुठियारलाई विश्वासमा लिनु बुद्धिमानी हुने अवगत गराउदछु,’ उनले भने ।

‘झडपको क्रममा हिरासतमा लिइएका युवाहरूको अविलम्ब रिहाईको माग गर्दछु,’ अध्यक्ष राणाले सरकारको ध्यानाकर्षण गर्दै भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here