भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआइ)ले आइपिएल सीजन-१३ को खेल तालिका सार्वजनिक गरेको छ।

कोरोना महामारीले विश्वभर राजनीति, आर्थिक, सामाजिक र खेल गतिविधिहरुमा प्रतिकूल प्रभाव परिरहेको बेला बिसीसीआईले आइतबार सेप्टेम्बर १९ (असोज ३ गते)देखि युएईमा सुरु गर्ने गरी तालिका सार्वजनिक गरेको हो।

उक्त तालिका अनुसार, यस सीजनको पहिलो खेल सीजन–१२ को बिजेता मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्सबीच हुनेछ। कोरोनाका कारण यस बर्षको आईपीएलमा २४ खेल दुबईमा, २० खेल आबुधावीमा र १२ खेल शारजाहमा हुने बताइएको छ।

यस सीजनको अन्तिम तथा फाइनल खेल नोभेम्बर १० अर्थात कार्तिक २५ गते मंगलबार हुने छ। यस अघिका संस्करणहरुमा फाइनल खेलहरु सामान्यतयः आइतबार हुँदै आएकोमा यसवर्ष कोरोनाको कारण मंगलबार राखिएको बोर्डले जनाएको छ।


एक दिनमा दुई खेल खेलाइँदैः

यस बर्षको टुर्नामेन्टमा एक दिन दुई खेल खेलाउने आयोजकले बताएका छन्।
विगतमा भन्दा आधा घण्टापछि खेल हुने तय गरिएको छ। पहिलो खेल अपरान्ह ३:४५ बजे र दोस्रो खेल साँझ ७:४५ बजे सुरु हुने बोर्डले जनाएको छ।

यस भन्दाअघि एक टिममा २५ खेलाडी हुनेमा कोरोनाका कारण आइपिएल गर्भानिङ्ग काउन्सिलले यस पटक एक टिमबाट २४ खेलाडी मात्र लैजान पाउने बताएको छ।

त्यस्तै यस बर्षको टुर्नामेन्टमा अनलिमिटेड कोरोना सब्सटिट्युटको व्यवस्था गरिएको छ। यदी कुनै खेलाडीमा कोरोना भाइरस पोजेटिभ लक्षण देखिएमा उक्त खेलाडीको सट्टा सम्बन्धित टिमले अर्को खेलाडीलाई टिममा समावेश गर्न पाउने व्यवस्था गरेको छ।

यस बर्षका सबै ६० खेलहरु दुबईमा, आबुधाबी र शारजाहमा मात्र हुनेछ। यस अघिका संस्करणहरुमा भारतका ८ ठाउँमा खेल हुने गर्थ्यो।

तीन स्थानमा मात्र खेल हुने भएपछि यस बर्ष म्याच फिक्सिंगमा पहिलेभन्दा कडा निगरानी हुने एन्टी करप्सन युनिट ९एसीयु०का हेड अजित सिंहले जनाएका छन्।

त्यस्तै हरेक ५ खेलपछि सबै खेलाडी तथा स्टाफको कोरोना परिक्षण गरिने बोर्डले जनाएको छ। खेललाई रोचक बनाउने कमेन्टेटरहरुलाई खेल मैदानमा उपस्थित नगराई उनीहरुको घरबाटै लाइभ कमेन्टरी गर्ने व्यवस्था गरिएको छ।

आइपिएलको तालिका सार्वजनिक भएसंगै इंग्ल्याण्ड र अष्ट्रेलियाका खेलाडीहरुलाई खेलमा सहभागी गर्ने वा नगर्ने भन्ने बारे अन्यौलता कायमै रहेको छ।

इंग्ल्याण्ड र अष्ट्रेलियाको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट खेल सेप्टेम्बर १६ मा म्यानचेस्टरमा हुनेछ। आइपिएलमा समावेश भएका यी दुई टिमका खेलाडी १६ तारिकमा खेल खेलेर त्यही दिन वा भोलिपल्ट नै लण्डनबाट दुबई जानु पर्नेछ।

त्यति मात्र नभई उनीहरु युएई गएपछि उनीहरुको कोरोना परिक्षण गरिनेछ। कोरोनाको परिक्षण नेगेटिभ आएका खेलाडीहरु ७ दिन आइसोलेसनमा बसेर मात्र खेलमा समावेश हुन पाउनेछन्। यो प्रक्रिया पुरा गरेका खेलाडीहरु आइपिएल सुरु भएको दोश्रो हप्ताबाट मात्र खेल खेल्न पाउनेछन्। अष्ट्रेलियाबाट १७ र इग्ल्याण्डबाट १३ खेलाडी यसबर्षको आइपिएलमा खेल्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here