नेपाली काँग्रेसले जननेता बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती कोरोना भाइरस सङ्क्रमणको प्रतिकूलताबाट सुरक्षित रहँदै विशेषरुपमा मनाउने भएको छ ।

काँग्रेसले यही भदौ २४ गते तथा यही साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र विदेशस्थित जनसम्पर्क समितिलाई परिपत्र गरिसकेको जनाएको छ ।

कोरोना प्रतिकूलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरी अनिवार्यरुपले भौतिक दूरी र अनिवार्य मास्क प्रयोग गरेर अथवा भर्चुअलरूपमा कार्यक्रम गर्न सूचित गरिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दिवसका अवसरमा राहत वितरण, मास्क वितरण, सचेतना कार्यक्रमसमेत समाविष्ट रहने पार्टी कार्यालयले जनाएको छ ।

केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको र भदौ २४ गते जुम प्रविधिमार्फत सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताले सम्बोधन गर्नुहुने ‘बिपीको विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक कार्यक्रम तय गरिएको छ । यसैगरी भदौ २५ गते ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बिपीको योगदान’ विषयक कार्यक्रम तय गरिएको र पार्टीका उपसभापति विमलेन्द्र निधि एवं अन्य विज्ञहरु वक्ता रहेको काँग्रेसले जनाएको छ ।

भदौ २६ गते तय गरिएको ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयक कार्यक्रममा बौद्धिक चिन्तकद्वय नरहरि आचार्य र प्रदीप गिरी वक्ता रहनुभएको छ । जुममार्फत हुने तिनै दिनको कार्यक्रम पार्टीको फेसबुक पेज (-facebook.com/ nepalicongresshq/) बाट प्रत्यक्ष प्रसारणसमेत गरिने पार्टी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here