नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारी नफैलिएको भए आफू नेपाल कम्युनिष्ट पार्टीको लोकतन्त्र र जनविरोधी सत्ताविरुद्ध सडक आन्दोलनमा जाने स्थितिमा पुगेको बताएका छन्।

पार्टीका संस्थापक नेता बीपी कोइरालाको १०७औं जन्मजयन्तीको अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल मिटिङलाई सम्बोधन गर्दै सभापति देउवाले आफूले निर्वाचनको समयमा भने अनुसार कम्युनिष्टबाट देशको प्रजातन्त्र खतरामा परेको बताए।

सरकारले अनेक बाहानामा प्रेस स्वतन्त्रता कटौति गर्ने, व्यक्तिगत स्वतन्त्रता समाप्त पार्न टेलिफोन ट्यापिङ गर्ने लगायतका गतिविधिहरु गरिरहेको बताउँदै देउवाले भने, ‘कम्युनिष्ट आए भने मानिसले दुःख पाउँछन् भनेर मैले भनेकै हो। आज सबै मानिस पछुताएका छन्।’

उनले कुनै पनि बेला देशको प्रजातन्त्र रक्षार्थ आन्दोलन गर्न पर्ने अवस्था आउन सक्ने बताउँदै भने, ‘हामी त आन्दोलन गर्ने पक्षमा थियौँ तर, कोरोनाको कारणले गर्दा मात्रै हो। यिनीहरु कुनै हालतमा सुध्रिनेवाला छैनन्।’

कांग्रेसले राणा, पञ्चायत र राजा ज्ञानेन्द्रविरुद्ध लडेको स्मरण गर्दै उनले भने, ‘अब हामीले प्रजातन्त्रका लागि फेरि कम्युनिष्ट सँग अर्को लडाई लड्नु पर्ने दिन आउँछ, आउँछ। आज कोरोनाका कारण त्यो दिन नआएपनि भोलि त्यो दिनका लागि हामी सबै तयार भएर बस्नु पर्छ।’

देउवाले अहिलेको सरकारले कोरोनाको नाममबाट पैसा कमाउने, पैसा उठाउने बाहेक केही काम नगरेको आरोप लगाउँदै जनता संक्रमणको त्रासमा आतंकित हुँदैगर्दा पनि पीसिआर टेष्ट, औषधी उपचारमा कुनै ध्यान नदिएकोले धेरै डरलाग्दो अवस्था आएको बताए।

सात सालका क्रान्ति नायक बीपी कोइरालालाई सानो देशको ठूलो नेता भएको बताउँदै उनैले नेपालमा पहिलो पटक समावेशी राजनीतिक सिद्धान्त मात्र अघि बढाएको नभई नेपालमा समाजवाद र प्रजातन्त्रिक सिद्धान्तको सुरुवात गराएको बताए।

पहिलो पटक दलित नेतालाई महामन्त्री र महिलालाई मन्त्री बनाएको स्मरण गर्दै अहिले पार्टीभित्र कदमजमको नाममा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था अघि बढाएको दाबी पनि उनले गरे।

पार्टीभित्र हाल देखिएको झगडा नौलो नभएको बताउँदै विगतमा जस्तो गणेशमान र किसुनजीले जस्तो कसैले पनि पार्टी छोड्न पर्ने अवस्था आउन नदिने प्रतिबद्धता उनले दोहोर्याए।

पार्टीको १४औं महाधिवेशनको विषयमा देउवाले अहिले कोरोनाको कारण कार्यतालिका प्रभावित भएको बताउँदै आफू पार्टीका नेताहरुले जे सुझाव दिए त्यहि अनुसार अधिवेशन गराउन तयार रहेको बताए।

साथै उनले संविधानले तोकेको समयसीमा भन्दा बढी समयसम्म लम्ब्याउन मिल्दैन भन्नेबारे आफू जानकार रहेको जवाफ दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here