काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरस महामारीको अवस्था र प्रभाव अनुगमन गरी सरकारलाई राय सुझावदिन संसदीय समिति गठन गर्न माग गरेका छन् ।

शुक्रबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाउदै काठमाडौंका २० जना सांसदहरुले कोरोनाका कारण जनस्वास्थ्यमा प्रभाव पर्नुका साथै ज्यालादारी मजदुर, उद्योग धन्दा, शैक्षिक संचालनमा समस्या देखिएकाले ती क्षेत्रको समस्याको अध्ययन र अनुगमन गर्न संसदीय समिति गठन गर्न उपयुक्त हुने जनाएका हुन् ।

कोरोना नियन्‍त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको समस्या र तिनको व्‍यवस्थापनमा देखिएका बेथितीको अनुगमन गरी सरकारलाई राय सुझाव दिने सांसदहरुको भनाइ छ ।

ध्यानाकर्षाण बुझाउदै उनीहरुले गत आर्थिक वर्ष २०७६÷७७ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित बाँकी रकम र चालू आर्थिक बर्षको रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउने प्रस्ताव पनि गरेको कांग्रेस सांसद भीमसेनदास प्रधानले जानकारी दिए । ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले आफु बिषयमा सकारात्मक रहेकाले सम्बन्धीत तहमा छलफल गर्ने बताएको प्रधानले बताए ।

त्यस्तै सांसद सञ्चारकर्मी र सञ्चार जगतका लागि समेत बिषम परिस्थीतिमा गरिएको कार्यको मुल्याङ्कन गर्दै सरकारी पक्षबाट बिशेष प्याकेजको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । संघीय संसदमा काठमाडौंबाट प्रत्यक्ष र समानुपतिक गरी २० जना सांसद रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here