नेपाल राष्ट्रिय व्यवसायी महासंघले आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग, व्यापार–व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउने व्यवस्थाका लागि पहल गरिदिन आग्रह गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ।

कोरोना भाइरसको महामारी र त्रासका कारण लामो समयदेखि मुलुकमा जारी बन्दाबन्दी तथा निशेधाज्ञाका कारण गम्भीर रुपले प्रभावित भएका निजी क्षेत्रका लागि सरकारले कुनै ठोस राहतका योजनाहरु नल्याएको र उद्योग, व्यापार–व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको भन्दै महासंघले आइतबार देउवा निवास बुढानिलकण्ठ पुगेर प्रमुख प्रतिपक्षी दलको नेता तथा पूर्वप्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो।

व्यवसाय पूर्ण रुपमा बन्द हुँदा बैंकको साँवा तथा ब्याज, घरभाडा, श्रमिकको पारिश्रमिक लगायत भुक्तानी गर्न समेत नसकिएको अवस्था रहेकाले आफ्नो माग बारे जानकारी कांग्रेस सभापति देउवालाई ज्ञापन पत्र बुझाएको महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए।

लकडाउन तथा निषेधाज्ञा अवधीभरको बैंक तथा सहकारी संस्थाहरुको ब्याजदरमा विशेष छुट हुनुपर्ने, सो अवधिको व्यापार–व्यवसाय तथा औद्योगिक क्षेत्रको घरभाडामा सरकारी स्तरबाट उचित राहतको व्यवस्थापन हुनपर्ने साथै भाडादरमा वैज्ञानिक हुनुपर्ने, मासिक भ्याट तथा अन्य कर तिर्ने समयावधि थप गरी विलम्ब शुल्क तथा जरिवाना छुट हुनुपर्ने लगाएतका आफुहरुको माग रहेको अध्यक्ष कटुवालले जानकारी दिए।

काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका २२ वटा संघहरु आबद्ध रहेको महासंघले लकडाउनको कारण लामो समयदेखि नेपाली आयातकर्ताहरुले खरिद गरी ल्याएको मालसामान नेपाल र चीनको नाका केरुङमा १० महिनादेखि रोकिँदा त्यही सडेर बिग्रने अवस्थामा रहेको भन्दै यसले उद्योग, व्यवसाय चौपट्ट भएको गुनासो देउवासँग गरेका छन्।

महासंघका प्रतिनिधिहरुले बुझाएको ८ बुँदे ज्ञापन पत्रमा उनीहरुले उद्योग र व्यवसाय बचाउनका लागि बिनाधितो ५ प्रतिशत ब्याजदरमा ऋणको व्यवस्था गर्नु पर्ने समेत माग अघि सारेका छन्।

यसैगरी राष्ट्र बैंकले साउन पहिलो साता सार्वजनिक गरेको मौद्रिक नीतिमा रहेको पुर्नकर्जा उद्योगीहरुले मात्रै पाउने व्यवस्थालाई सहज बनाई व्यापार व्यवसायीलाई पनि दिनु पर्ने माग पनि गरेका छन्।

यसका अतिरिक्त कोरोनाका कारण शिथिल भएको उद्योग, व्यवसायहरुको समस्या समाधानका लागि निजी क्षेत्र र सरकारी स्तरको समन्वय समिति बनाउन पनि सुझाव दिएका छन्।

ज्ञापन पत्र बुझ्दै सभापति देउवाले उद्योग व्यवसायीहरुका जायज मागहरु सरकारले पुरा गर्नै पर्ने बताउँदै यसका लागि आफू र आफ्नो पार्टीकोे तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने आश्वासन दिएका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here