फ्रेन्च लिग वानको साविक विजेता पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले नयाँ सिजनमा लगातार दोस्रो हार भोगेको छ । गएराति भएको खेलमा पीएसजी मार्सेलीसँग १–० ले पराजित भएको हो ।

नयाँ सिजनमा कोरोना भाइरसका कारण खेलाडीहरु आइसोलेसनमा बस्नुपरेपछि समस्यामा परेको पीसएसजीका लागि लगातारको हारले थप समस्या थपेको छ ।

गएराति भएको खेलमा कोरोना संक्रमणमुक्त भएर मैदान फर्किएका नेयमारसमेत मैदानमा झगडा गरेपछि रातो कार्ड पाएपछि पीएसजीलाई समस्यामाथि समस्या थपिएको छ ।

केलियन एमबाप्पेसहितका खेलाडी कोभिड–१९ का कारण अझै आइसोलेशनमा छन् । गएराति भएको खेलमा ३१ औं मिनेटमा फ्लोरियन थाउविनले गरेको गोलको मद्दतमा मार्सेलीले पीएसजीलाई १–० ले हराएको हो ।

यद्यपि यो खेल जित हारका कारण भन्दा पनि ५ वटा रातो कार्डका कारण चर्चाको विषय बनेको छ । खेलको इन्जुरी समयको अन्तिमतिर दुवै टिमका खेलाडीबीच मुक्कामुक्की परेको थियो । जसका कारण दुई टिमका ५ खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

खेलको ९७ औं मिनेटमा नेइमारसहित पीएसजीका तीन र मार्सेलीका दुई खेलाडीले रातो कार्ड पाएका हुन् ।

पीएसजीका नेइमारसहित लियोन्ड्रो परेडेस र लेविन कर्जवा तथा मार्सेइलीका जोर्डन एमावी र डारिओ बेनेडिट्टोले रातो कार्ड पाएका हुन् । रेफ्रीले भिएआरबाट नेइमारको पञ्च हेरेर सीधै रातो कार्ड दिएका हुन् ।

खेलपछि नेइमारले ट्वीट गरेर अल्भारो गोन्जालेजको मुखैमा पञ्च नहिर्काएकोमा पछुतो रहेको टिप्पणी गरेका छन् । गोन्जालेजले नेइमारलाई पछाडिबाट टाउकोमा हिर्काएका थिए ।

नेइमार र अल्भारोभन्दा अघि मार्सेलीका बेनेडिट्टोले परेडेसलाई पछाडिबाट तानेपछि परेडेसले बेनेडिट्टोलाई मैदानमा लडाएका थिए ।

रातो कार्ड पाएर मैदानबाट बाहिरिने क्रममा नेइमारले फोर्थ अफिसियललाई आफूमाथि रंगभेदी व्यवहार भएको जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here