नेपाली हाँस्यव्यंग्य तथा कलाकारिता क्षेत्रका चर्चित व्यक्तित्व मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकारका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पुनर्नियुक्तिको पक्षमा लामो विचार व्यक्त गरेका छन्।

एक कार्यकाल सकिएपछि पुनः नियुक्तिको अपेक्षा गरेका कुलमानसँगै उनको पक्षमा उभिएका सर्वसाधारण मानिसहरुको अपेक्षा विपरित सरकारले उनलाई पुनः सोही पदमा नियुक्त नगरेपछि कलाकार श्रेष्ठले उनको पक्षमा फेसबुकमार्फत आफ्नो मत प्रकट गरेका छन्।

कुनै समय कर्मचारी संचय कोषको जागिरे जीवनका क्रममा तत्कालिन कार्यालय प्रमुख परिक्षीत नरसिंह राणाको इमान्दारिता र कार्यकुशलतासँग  कुलमानको तुलना गर्दै त्यतिबेलाका इमान्दार कर्मचारी राणालाई जस्तै अहिले कुलमानलाई पनि पाखा लगाइएको भनि असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारले उनलाई पुनः सोही पदमा नियुक्त गर्न नियमले नमिल्ने भनि गरिएको दाबीबारे श्रेष्ठले प्रतिवाद गर्दै राम्रो मानिसलाई सोही पदमा नियुक्त गर्न नियमले नमिल्ने भए त्यो भन्दा माथिल्लो पदमा भएपनि नियुक्ति गर्न सुझाव दिएका छन्।

प्रस्तुत छ, कलाकार श्रेष्ठले आफ्नो फेसबुकमा व्यक्त गरेको विचारकोे सम्पादित अंशः

अहिले सम्झिँदा साँच्चिकै एकादेशको कथा झैँ लाग्छ मैले कर्मचारी संचय कोषमा जागिर खाइरहँदाका त्यी दिनहरु….

एउटा कार्यालयको प्रमुख व्यक्तिले आफूलाई दिइएको जिम्मालाई इमान्दारिताका साथ निभाइदिएमा आफ्नो क्षेत्रलाई भ्रष्टाचारको स्टन्टबाट मुक्त गरेर जनतालाई राहत दिन सकिन्छ भन्ने एउटा वास्तविक उदाहरणको कथा थियो त्यो…

मैले २०२३ सालदेखि करिब १२ वर्ष जागिर खाएकोे कार्यालय कर्मचारी संचय कोषका प्रशासक श्री परिक्षीत नरसिंह राणाले शतप्रतिशत आफू इमान्दार भएर नेतृत्व दिएकाकारण त्यस ताकाका सबै कर्मचारीहरुलाई आफ्ना सेवाग्राहीहरुबाट घुसको त कल्पनै नगरौैँ, एक कप चिया, एक खिल्ली चुरोट खान त के छुनसम्म पनि हिम्मत गर्न नसक्ने बनाइदिएका थिए।

सेवाग्राहीको तर्फबाट एक खिल्ली चुरोट लिइहालेमा कुरा तुरुन्तै माथि पुगिसक्दथ्यो र त्यस व्यक्तिलाई अपराधी मानेर उत्निखेरै उसलाई जागिरबाट सदाका लागि घोक्रेठ्याक लाइन्थ्यो। हायर एण्ड फायरको एउटा कडा उदाहरण थियो।

यो कुरा मैले मेरो आत्मकथा ‘महको म’मा समेत लेखेको छु।

उहाँको नेतृत्वमा काम गरेका कर्मचारहिरु आजसम्म पनि प्रशासकज्यूप्रति गर्व गर्दछन्।

कुरा अझै बाँकि छ।

पछि उहाँको कार्यकाल सकिएपछि त्यत्रो ठूलो वित्तिय संस्था हाँकीरहेका व्यक्तिलाई अपमान गरेसरह एउटा सानु इन्धन संस्थानमा सरुवा गरियो।

त्यहाँ पनि भ्रष्टाचार उन्मूलन गर्ने कार्यमा लाग्नु भएपछि भ्रष्टाचारीहरु सबै मिलेर उहाँलाई नै त्यहाँबाट हटाई दिए।
परिक्षीत नरसिंह जस्ता इमान्दार र नैतिकवान कर्मचारीहरु अरु पनि पशस्त छन् हाम्रो देशमा तर, उहाँहरु को को हुन् म चिन्दिन।

सबैको भनौँ या मेरो मन जितेको व्यक्तिहरुमा उनै परिक्षीत नरसिंह राणापछि उत्तिकै मन जितेका व्यक्ति हुन् कुलमान घिसिङ।

उहाँहरु दुबै मेरा न साथीभाई हुन् न कुनै नातेदार नै। तर, दुबैप्रति मेरो आत्मसम्मान छ।

उहाँ जस्तो व्यक्तिलाई सरकारले सदुपयोग गरेर इमान्दारीको पनि अनुकरण हुँदै जाओस् भन्ने मेरो मनको तमन्ना मात्र हो।
लौ जा, एउटा भन्नै छुटेछ।
उहाँलाई त्यही पदमा पुनर्बहाली गर्न नियमले नमिले त्यो भन्दा माथिल्लो पदको जिम्मा दिँदा पनि राम्रै हुन सक्छ। कि कसो?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here