नेपाल सरकारले भारतबाट खरिद गरी शुक्रबार मात्रै जनकपुर ल्याइएका दुई वटा रेल सरकारले खरिद गरेको नभई भारत सरकारले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन उपहार स्वरुप दिएको खुलासा भएको छ।

करिब दश वर्ष अघि नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार, सरकारले करिब ८५ करोड रुपैयाँमा खरिद गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सपना सार्थक बनाउन आधुनिक रेल जनकपुर आइपुगेको समाचार प्रकासित भएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले नेपाल सरकारले भारतीय रेल कम्पनी केआरसिएलबाट ८४ करोड ६५ लाखमा खरिद गरेका दुई सेट डेमु रेल जनकपुर ल्याएर परिक्षण तथा कमिसनिङ गरिएको बताएका छन्।

तर, शुक्रबार नै भारतीय रेलवे मन्त्री प्यूस गोेयलले आफ्नो ट्वीटरमार्फत भारतीय सरकारको स्वामित्वमा रहेको रेलवेद्वार नेपाललाई उपहार दिएको बताएपछि रेल खरिदको विषय थप विवादस्पद बन्ने देखिएको छ।

रेलवे मन्त्री गोयलले भनेका छन्, ‘नेपालसँग हाम्रो प्राचीन सांस्कृतिक तथा सौहाद्र्रपूर्ण सम्बन्ध रहेँदै आएको छ। हाम्रो यही सम्बन्धलाई नयाँ आयाम दिँदै रेललेद्वार नेपाललाई दुई डेमु ट्रेन सेट दिइएको छ।’

साथै गोयलले यी रेलको उपयोग गरी बिहारको जयनगरदेखि नेपालको कुर्थासम्मकोे रेलयात्रा संचालन हुँदा दुबै देशका नागरिकलाई लाभ हुने आशा समेत व्यक्त गरेको छन्।

शुक्रबार मात्रै तामझामका साथ जनकपुर आइपुगेका दुई रेलको विषयलाई लिएर सरकारी संचारमाध्यम तथा सामाजिक संजालमा प्रधानमन्त्री ओलीले चुनावी भाषणमा गरेको प्रतिबद्धता अनुसार रेल आएको भन्ने हल्ला फैलाइएको थियो।

राणा शासनकै समयमा सुरु भएको रेल सेवा पछिल्लो समय व्यवस्थापनको कमजोरीका कारण बन्द भएकोे थियो।

तर, सन् २०६६ फागुनमा नेपालका प्रथम राष्ट्रपति रामवरण यादव भारत भ्रमणमा जाँदा ततकालिन प्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच नेपाल र भारतका पाँच नाकाबाट अन्तरदेशीय रेलमार्ग बनाउने समझादी भएको थियो।

भारतीय अनुदानमा निर्माण गरिएको पहिलो चरणको जनकपुर जयनगर रेलमार्गमा संचालन गर्नका लागि सरकारले करिब ८५ करोड रुपैयाँमा दुई वटा रेल खरिद गरेको भनिएपनि भारतीय रेलवे मन्त्रीको दाबीले सरकारले खरिद गरेको भन्ने विषय विवादको घेरामा परेको छ।

यसरी परस्पर विरोेधी विचार सार्वजनिक भएपछि उद्योग व्यवसायी बसन्तकुमार चौधरीले पनि आफ्नो ट्वीटरमार्फत नेपालले खरिद गरेको भन्ने र भारतीय रेलवे मन्त्रीले उपहार दिएको भन्ने दाबीमा सत्यता के प्रष्ट्याउन माग गरेका छन्।

कोेन्कन रेलवे कर्पोेरेशनले भने आफूले नेपाल सरकारको रेलवे विभागबाट ५२.४६ करोड भारतीय रुपैयाँमा तयार पारी पठाएको जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here