पोखरा। कास्कीको मादी गाउँपालिका–६ तप्राङका गङ्गाधर पौडेलका १३ वर्षीय छोरा विशाल पौडेलको उपचारमा रकम अभाव भएपछि परिवारले सहयोगको याचना गरेको छ ।

गत २८ साउनमा राती घरमै सुतिरहेको अवस्थामा विषालु सर्प कालो करेतले डसेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार सुरु गरिएकामा उपचार प्रक्रिया लम्बिँदै जाँदा रकम अभाव भएपछि परिवारले सहयोगका लागि आग्रह गरेको हो ।

डसाइपछि गम्भीर बिरामी पौडेलको अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेकामा उपचारमा रकम अभाव भएको र काठमाडौँ लैजान नसकिएको उनका दाजु महादेव पौडेलले बताए ।

बिरामी पौडेल महारुद्र मावि तप्राङमा कक्षा ८ मा अध्ययनरत छन् ।

कोमाबाट १९ दिनपछि फर्किएका विशालको मुख र आँखा चले पनि अहिलेसम्म  होसमा आउन नसकेको र चिकित्सकले काठमाडौँ लैजान सिफारिस गरे पनि पैसाको अभाव भएको उनले बताए ।

भाइको उपचारमा हालसम्म ८ लाख रुपैयाँको हाराहारीमा खर्च भएको बताउँदै कमजोर आर्थिक अवस्थाका कारण थप उपचार अघि बढाउन नसकिएको महादेवले जानकारी दिए । 

उपचारमा आर्थिक सहयोग सङ्कलनका लागि अहिले मादी गाउँपालिका–६ का स्थानीयवासीले सहयोग सङ्कलन अभियान सुरु गरेका छन् ।

त्यसैगरी वडा कार्यालयले समेत सूचना जारी गरी पौडेलको उपचारमा सघाउन सङ्घसंस्था तथा व्यक्तिहरुमा आग्रह गरेको छ।

सहयोग गर्न इच्छुक व्यक्तिहरुले भाइ शिवराज पौडेलको नाममा मुक्तिनाथ विकास बैंक काहुुँखोला शाखामा रहेको खाता नम्वर ०२६२१६००४९१५५००००००१ मा जम्मा गर्न वा ९८०३२६०३०७ मा सम्पर्क गर्न आग्रह गरिएको छ । -रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here