सरकारले सिन्धुपाल्चोक र बाग्लुङ विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार साँझ सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले यसवर्ष धेरै विपद् बेहोरेका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिए । सङ्कटग्रस्त क्षेत्र घोषणा भएसंगै ती जिल्लामा विश्व बैंकमार्फत् हुने पचास मिलियन डलर करिब ६ अर्ब रुपैयाँ खर्च गरिने ज्ञवालीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल र इजरायलबीच श्रम सम्झौता गर्ने निर्णय गरेको छ । त्यसको जिम्मा इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई दिइएको छ । श्रम सम्झौतापछि नेपाली कामदार केयर गिभरको रूपमा इजरायल जानेछन् । नेपाली श्रमिकहरूले त्यहाँका कामदार सरह सेवा, सुविधा सर्त पालना गर्नुपर्ने मन्त्री ज्ञवालीको भनाई छ । त्यस्तै आधिकारीक ट्रेड युनियनको निर्वाचन वि स २०७७ मंशिर २७ गते गर्ने निर्णय गरिएको उनले बताए ।

त्यस्तै उनले चिनियाँ पक्षले नेपाली भूभाग कब्जा गरी भौतिक संरचना बनाएको वा नबनाएको भन्ने विषयमा स्थलगत अध्ययन गर्न नेपाली टोली गएकाले उनीहरु आएपछि थप तथ्य आउने जानकारी दिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल–चीन सीमा क्षेत्रमा कुनै समस्या नरहेको पनि बताए । हुम्ला लिमीमा देखिएको समस्या २०७३ सालमा गठन भएको अन्तर मन्त्रालय छानबिन समितिले नै प्रष्ट पारिसकेको र त्यतिबेला नै यो विषय किनारा लागेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here