गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुबा गुरुङ ले बिश्वासको मत मागेका छन् । आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गुरुङले बिश्वासको प्रस्ताव पेस गरेका हुन् ।

उनले नेपालको राजनीतिक विकासको अस्थिर इतिहास नदोहोराउन आग्रह गरेका छन् । उनले भने,’जनताले सरकारप्रति अपनत्व र स्वामित्व ग्रहण गर्न सकुन् भन्ने ध्येयले नै हामीले संविधान वनाएका थियौं। तर आग्रह र पूर्वाग्रहका कारण मुलुकको राजनीति प्रदूषित भयो। यो प्रदूषणले गण्डकी प्रदेश सभालाई पनि गाँजेकै छ।’

उनले मनोगत आग्रहका कारण एउटै पार्टी भएर सरकारमा काम गरिरहँदा अचानक नेकपा (माओवादी केन्द्र) सरकारबाट अलग भएपछि र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थितिको सामना गण्डकी प्रदेश सरकारले गरेको बताए ।

उनले भने, ‘अस्थिरताका बीच मैले दलहरुका बीच पुन: संवाद होस् विकल्प पनि तयार होस् भनेर मिति २०७८।०१।२६ गते राजीनामा गरेको थिएँ। तर दलहरुका बीच संख्यात्मक जोड नपुग्दा अहिले ठूलो दलको रुपमा संबिधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार सञ्चालन गरेर धारा १६८ को उपधारा (४) अन्तरगत विश्वासको मतका लागि उपस्थित भएको छु।’

उनले भने, ‘अधुरा विकासका काम छोडेर राजनीतिक दाउपेचमा अल्झिनु र राजनीतिक अस्थिरता पैदा गर्नु न्यासंगत हुँदैन।मैले नेतृत्व गरेको नेकपा (एमाले) बाहेक अन्यदलहरुको प्रदेशसभामा बहुमत पुग्ने र बैकल्पिक सरकार गठन हुने सम्भावना पनि छैन।’

‘गण्डकी प्रदेशका जनताले दिएको म्यान्डेट नेकपा एमालेले ठूलो दलका रुपमा सरकार सञ्चालन गर्ने, म्यानडेटका आधारमा २०७४ साल फागुन ४ गते मेरो नेतृत्वको सरकार गठन गर्दा नेकपा (माओवादी) केन्द्र सहयात्री दल भएपनि समयक्रममा एउटै दलमा सामेल भएका पनि थियौं तर राजनीतिक घटनाक्रम र सर्बोच्चको फैसलापछि दुबै दल छुट्टाछुट्टै भएका छौं तथापि सहकार्यको बाटो खुला नै छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा जस्ता राजनीतिक दलसँग पनि नेकपा (एमाले) ले सहकार्य गर्दै आएको छ।’ उनले भने

उनले राजनीति सबै सम्भावना खुला भएको क्षेत्र रहेकोले राजनीतिक दलहरु एक आपसमा मिल्ने र छुट्टिने राजनीतिक घटनाक्रमको उपज मात्र रहेको बताए। उनले भने,’जनतालाई केन्द्रमा राखेर सहकार्य गर्ने हो भने हामी सबैले प्रतिबद्धता जनाएको समृद्धिको यात्रा सहज हुने विश्वास लिएको छु।संघीयताको मर्म बमोजिम नेपालको संविधान को सहज कार्यान्वयन गर्दै प्रदेशको समग्र विकास र समृद्धिको यात्रामा सहकार्य गर्न पु:न यस प्रदेशसभाका सम्पूर्ण माननीय सदस्यहरुलाइ आह्वान गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here