इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टरका दुवै टिम विजयी भएका छन् भने भने चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन् ।
गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को जीत हात पारेको छ ।

युनाइटेडको जितमा कप्तान ह्यारी मगुएर, मार्कस रासफोर्ड, ब्रुनो फर्नान्डेज, वान विसाकाले एक एक गोल गरे भने लुका शले आत्मघाति गोल गरेका थिए ।

युनाइटेड लिगको सुरुवाती ४ खेलमा ६ अंक जोडेर १४ औं स्थानमा छ भने न्युक्यासल ५ खेलबाट ७ अंकसहित तालिकाको ११ औं स्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई १–० ले हराएको छ । सिटीलाई जीत दिलाउन रहिम स्टर्लिङले२३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै सिटीले लिगमा दोस्रो जीत हात पारेर ४ खेलमा ७ अंक जोडेको छ । आर्सनलको ५ खेलमा ९ अंक सहित  तालिकाको पाँचौं स्थानमा छ ।
गएरातिको अर्को खेलमा साविक विजेता लिभरपुल एभर्टनसँग २–२ गोलको बराबरीमा रोकिएको छ । एभर्टनको मैदानमा दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो ।

खेलको तेस्रो मिनेटमा सादियो मानेले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । तर १९ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ७२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाएपनि ८१ औं मिनेटमा डोमिनिक काल्भर्ट–लेविनले गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

एभर्टनसँग बराबरीमा रोकिएको लिभरपुल तालिकाको दोस्रो स्थानमा छ । उसको ५ खेलमा १० अंक छ भने एभर्टन समान खेलबाट १३ अंकसहित शीर्ष स्थानतमा यथावत रहेको छ ।

गएरातिको अर्को खेलमा चेल्सीले साउथह्याम्पटनसँग ३–३ गोलको बराबरी खेलेको छ । चेल्सीका लागि टिमो वेर्नरले दुई तथा काइ हाभर्ट्जले एक गोल गरे ।

साउथह्याम्पटनका ड्यानी इन्ग्स, चे एडम्स र जानिक भेस्टरगार्डले एक एक गोल गरे । स्टामफोर्ड ब्रिजमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको हो ।

खेलको १५ औं मिनेटमा वेर्नरको गोलबाट अग्रता बनाएको चेल्सीले २९ औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि २–० को अग्रता बनाएको थियो ।

तर, ४३ औं मिनेटम ड्यानी इंग्सले गोल गर्दै साउथह्याम्पटनलाई २–१ को अवस्थामा ल्याए भने ५७ औं मिनेटमा चेले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

त्यसपछि ५९ औं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई पुनः ३–२ को अग्रता दिलाएका थिए । तर ९० औं मिनेटमा साउथह्याम्पटनका जानिकले गोल गरेपछि चेल्सी ३–३ गोलको बराबरीमा रोकियो ।

बराबरीसँगै चेल्सीले ५ खेलमा ८ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । दशौँ स्थानको साउथह्याम्पटनको ७ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here