युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सको खराब लय कायमै छ । गएराति भएको खेलमा चेन्नईलाई राजस्थान रोयल्सले ७ विकेटले हराएको हो ।

युएईको अबुधाबीमा गएराति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जीत निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

राजस्थानको जितमा जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे ।

यस्तै बेन स्टोक्सले १९ र रोबिन उथप्पाले ४ रन बनाए भने सन्जु सामसन शून्य रनमा आउट भए । चेन्नईका दिपक चाहरले २ विकेट लिए भने जोस हाजलउडले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो ।चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित ३५ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले २८, साम करणले २२, अम्बाती रायाडु १३, फाप डु प्लेसिस १० रनमा आउट भए ।

राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १–१ विकेट लिए । जितसँगै राजस्थानले प्ले अफमा पुग्न सम्भावना जीवितै राखेको छ ।

राजस्थान १० खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । राजस्थानले यो सिजन लगातार दोस्रो खेलमा चेन्नईलाई हराएको हो । सिजनको पहिलो भेटमा राजस्थानले चेन्नईलाई १६ रनले हराएको थियो ।

हारपछि चेन्नईको भने प्ले अफ सम्भावना कमजोर बनेको छ । उसको १० खेलमा ६ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here