नेपाली कांग्रेस जनसम्पर्क समन्वय विभागको पहिलो बैठक बुधबार बसेको छ।

कोरोना महामारीका कारण उत्पन्न विशम परिस्थितिमा भर्चुअल माध्यमबाट भएको बैठकमा विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरुको विवादलाई वैधानिक ढंगले समाधान गर्दै जाने निर्णय भएको विभागका प्रमुख तथा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले बताए।

यसैगरी आसन्न १४औं महाधिवेशनको अगाडि देखिएको क्रियाशील सदस्यता तथा नविकरणको समस्याको नीतिगत समाधानको विषय केन्द्रीय कार्यसमितिमा छलफलका लागि विभागको प्रमुखले पेश गरेर समाधान खोजिने बताइएको छ।

असन्तुष्ट पक्षको विरोधका बाबजूद गठन भएको विभागको काम कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन काठमाडौंमा विभागको सम्पर्क कार्यालय स्थापना गर्ने तथा जनसम्पर्क समिति गठन नभएका कतिपय देशमा जनसम्पर्क समिति गठन गर्ने पनि निर्णय भएको छ।

पछिल्लो समय विश्वभर महामारीका रुपमा फैलिएको कोरोना कहरका कारण रोजगारी गुमाएका नागरिकको मात्रै नभएर देशभित्रै महामारीको चपेटामा परेका नागरिकको परिक्षण र उपचारबाट सरकार भागेर संविधान मौलिक हक तथा सर्वोच्च अदालतको आदेशको अवहेलना गरेको भन्दै भट्टराईले आलोचना गरे।

विश्वका अन्य मुलुकमा त्यहाँको सरकारले आफ्ना हरेक नागरिकलाई जुनसुकै हालतमा हर तरहले साथ र समर्थन दिएपनि सर्वहारा, गरिव, सुकुम्वासी जनताको मसिहाको नारा दिएर चुनावमा मत पाएको कम्युनिष्ट सत्ता अहिले तिनै जनताको वेवास्ता गरेर निहित स्वार्थमा केन्द्रीत भएको आरोप पनि उनले लगाए।

‘सरकार विपन्न, सुकुम्वासी र गरिव जनताकाबीचमा भेटिनु पर्नेमा केबल टेलिभिजनको स्क्रिनमा मात्रै दखिएको छ,’ उनले भने।

वर्तमान कम्युनिष्ट सरकारले अहिले आफ्नो सबै ध्यान केबल सत्ता, शक्ति र अलोकतान्त्रिक गतिविधिमा केन्द्रीत गरेको आरोप लगाउँदै सरकारको सर्वसत्तावादी चरित्रविरुद्ध देशभित्र र बाहिर रहेका नेपाली जनता एकताबद्ध हुन र लोकतन्त्र र संविधानको रक्षा गर्न जुट्नु परेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here