गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सरकारले धारणा बनाउने बताएका छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा दार्चुला घटना लगायत अन्य घटनाबारे जानकारी गराउँदै मन्त्री खाँणले दार्चुला घटनामा सरकार गम्भीर भएकै कारण छानविन समिति बनाइएको बताए ।

“हामी आफैले छानविन समिति बनाइरहेको अवस्थामा छानविनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानविनबाट घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुको लागि हामी जुनसुकै अडान लिन पनि तयार छौँ’, उनले भने।

उनले समितिको अध्ययन प्रतिवेदनका आधारमा सरकारले आवश्यक अडान लिने पनि धारणा राखे । समिति गठन भइसकेको अवस्थामा यस बिषयमा सरकारले अहिले नै धारणा तय गर्नु उचित नभएको उनको भनाई छ । उनले घटनाको प्रत्यक्षदर्शीसंग पनि कुराकानी भइरहेको धारणा राखे । गृहमन्त्री खाँणले महाकाली नदिमा झोलुङ्गे पुल बन्ने काम सुरु भइसकेको जानकारी दिए ।

त्यस्तै उनले मनसुन यता प्राकृतिक प्रकोपबाट बिभिन्न ५५ जिल्लामा ६७ जनाको मृत्यु र ४० जना बेपत्ता भएको जानकारी गराए । बाढीका कारण क्षतीको मुल्याङ्कन गरि पुननिर्माणको काम सुरु गर्न निर्देशन दिइसकेको उनले बताए । उनले प्राकृतिक बिपतसंग सामना गर्दै जनताको जिवनरक्षा गर्न सरकार प्रतिवद्ध रहेको धारणा राखे ।

बैठकमा सांसदहरुले तुइन काटिएको घटना सम्बन्धमा भारत सरकारसँग छलफल गर्न सरकारले ढिलाई गरेको आरोप लगाएका थिए । एमालेका भैरव सुन्दर श्रेष्ठले एसएसबीले तुइनको लठ्ठा काटेको भनेर प्रत्यक्षदर्शीले बताउँदा भारतसँग कुरा गर्न किन तयार नभएको भनी प्रश्न गरे । त्यस्तै सांसद कोमल ओलीले तुइन काटेर जयसिंह धामी नदीमा खसेको मानवीयताविरोधी र लज्जास्पद घटनामा सरकार समिति बनाएर मात्र बस्न नमिल्ने तर्क गरिन्।

त्यस्तै बैठकमा गृहमन्त्री खाँणले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका रबिदासको बिषयमा पनि आवश्यक अनुसन्धान भइरहको जानकारी गराए । उनले रबिदासले आफूले लगाउने गञ्जी च्यातेर पासो बनाई भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी आफुसमक्ष आएको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here