अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफु व्यवस्थापकको भुमिकामा नेपाली क्रिकेटमा काम गर्ने बताएका छन् ।

बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै पारसले आफु क्रिकेटमा नटाढिने बताउँदै भुमिकामात्र बदलिने बताए । मंगलबार पारसले अन्तराष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय गरेका थिए । पूर्व कप्तान पारसले दुई वर्षअघिनै सन्यासको विषयमा सोचेको भएपनि टिमलाई सहयोग गर्नमात्र राष्ट्रिय टिममा बसेको उल्लेख गरे ।

त्यस्तै पारसले कप्तान र खेलाडीको रुपमा आफुले गर्न सक्ने योगदान राष्ट्रिय टिमबाट पुरा गरेको जिकिर गरे । पारसले आफुले क्रिकेटरको रुपमा हासिल गरेका ठुलो सफलता दर्शकको माया र इजजत नै भएकाले नेपाली क्रिकेटलाई माथि पुय्राउनु आफु कर्तव्य भएकोे बताए । क्रिकेट क्षेत्रको सुधारका लागि क्यानदेखि लिएर सरकारको पनि साथको आवश्यकता पर्ने उनले बताए ।

झण्डै १९ वर्ष नेपाली टिमबाट खेलेका पारस १० वर्ष कप्तानको भूमिकामा रहेका थिए । नेपाली क्रिकेटका सफल कप्तानका रुपमा रहेका पारसको कप्तानीमा नै नेपालले टी २० विश्वकप खेल्नेदेखि लिएर एक दिवसीयमा डेब्यु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here