नेपाल र भारतबीच पछिल्लो समय देखिएको उच्चस्तरिय राजनीतिक तथा कुटनीतिक गतिरोधका कारण दुई देशबीचको सम्बन्धमा असमझदारी पैदा भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतीय सरकारी पक्षको ध्यानाकर्षण गराएको छ।

करिब ९ महिना लामो नेपाल–भारत कुटनीतिक गतिरोधलाई अन्त्य गर्दै बिहिबार नेपालको दुई दिने भ्रमणमा काठमाडौं आएका भारतीय विदेश सचिव हर्षवद्र्धन शृङ्गला सँगको भेटवार्ताका क्रममा कांग्रेसले राजनीतिक तहमा छलफलको निरन्तरतालाई जोड दिएको हो।

बिहिबार साँझ केही ढिलोगरी कांग्रेस सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ताका लागि पुगेको भारतीय विदेश सचिव श्रृङ्गलासँगको सभापति देउवासहितका शीर्ष नेताहरुले नेपालसँगको सम्बन्धमा राजनीतिक तहको सम्वादमा भारत उदासिन बन्दा दुई देशबीचको सम्बन्धमा केही चिसोपना आएको संकेत गरे।

विदेश सचिवसँगको भेटवार्तामा सहभागी परराष्ट्रविद् दिनेश भट्टराईका अनुसार, कांग्रेसका नेताहरुले मुख्य रुपमा चारवटा विषयमा केन्द्रित रहेर आफ्नो धारणा राखेको बताए।

शिष्टाचार भेटका लागि पुगेको विदेश सचिवले नेताहरुसँग आफू मित्रताको हात बढाउन नेपाल आएको बताउँदै विशेषगरी भारतको स्वतन्त्रता संग्राममा समेत भाग लिएको कांग्रेस र यसको नेतृत्वसँग धेरै पुरानो र सुमधुर सम्बन्ध रहेको बताएका थिए।

जवाफमा सभापति देउवाले कांग्रेसले भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएको र आफूहरु लोकतान्त्रिक शासन व्यवस्थाका सहयात्री भएको बताएका थिए।

‘दुई देशबीच उच्चस्तरिय राजनीतिक तहमा निरन्तर सम्पर्क, छलफल र वार्ता हुनु पर्यो। यसले दुई देशबीच देखिएका सबै असमझदारी विस्तारै हटेर जाने तथा एकअर्काबीचको विश्वास विस्तारै स्वतः बढेर जान्छ,’ देउवाले भेटवार्ताका क्रममा व्यक्त गरेको भनाई उद्धृत गर्दै भट्टराईले भने।

पार्टी नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समेत उपस्थित रहेको उक्त भेटवार्तामा नेताहरुले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमणको स्मरण गर्दै उच्चस्तरिय राजनीतिक सम्वादले दुई देशबीचको सम्बन्धलाई राजनीतिक तहमा मात्र होइन जनतामाझ पनि आफसेआफ मजबूद बनाउँछ भन्ने प्रमाणको रुपमा लिन सकिने धारणा व्यक्त गरेका थिए।

पछिल्लो समय नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रमा भारतीय अतिक्रमणबारे कांग्रेस नेताहरुले कुनै कुरा राखे भन्ने प्रश्नको जवाफमा भट्टराईले प्रत्यक्ष रुपमा नेताहरुले यस्ता विषय नउठाएपनि कतिपय विषय कुटनीतिमा सोझै नभनेर पनि व्यक्त हुने बताए।

साथै नेताहरुले नेपाल भारतबीचको सम्बन्धका बहुआयामिक पक्ष रहेको बताउँदै कांग्रेसले भारतसँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको बताएका थिए।

भारत र नेपालबीच विगतमा जे जति विकास, निर्माणका विषयमा सहयोग सम्बन्धि सम्झौता भए त्यी सम्झौताहरुको फितलो कार्यान्वयन तर्फ लक्षित गर्दै नेताहरुले सम्झौता अनुसार समयमै कार्यान्वयन गर्न जोड दिएका थिए।

यसरी कांग्रेसका नेताहरुले नेपाल र भारतबीच भएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण सम्झौता वर्षौँदेखि अलपत्र रहेको तर्फ लक्षित गर्दै सम्झौता कार्यान्वयनमा जोड दिएका थिए।

यसैगरी कांग्रेसका नेताहरुले नेपालको सामाजिक र आर्थिक रुपान्तरणमा भारतले गर्दै आएको सहयोग र समर्थनलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए।

जवाफमा भारतीय विदेश सचिवले सहमति जनाएको पनि भट्टराईले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here