तामझामका साथ प्रतियोगिता सम्पन्न भएको एक वर्षपछि मात्रै राष्ट्रिय खेलकुद परिषद (राखेप)ले १३औं दक्षिण एसियाली खेलकुद (साग)को आयव्यय (हिसाबकिताब) विवरण सार्वजनिक गरेको छ।

राखेपले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १३ औं सागको आयव्यय विवरण सार्वजनिक गरेको हो।

साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गरिसक्नु पर्ने व्यवस्था रहेको छ। तर, आफ्नो कार्यविधि अनुरुप कार्य सञ्चालन गर्न नसकेर आर्थिक पारदर्शीता र दायित्वबाट विफल जस्तै बनेको राखेपले हिसाबकिताब समयमा नआउनुको कारण र बहाना कोरोना महामारीलार्ई बनाएको छ।

पत्रकार सम्मेलनमा राखेका सदस्य सचिव रमेशकुमार सिलवालले साग खेलकुद तर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैया १५ पैसा खर्च भएको जानकारी दिए।

यस्तै निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैया खर्च भएको विवरणमा उल्लेख छ।

यस्तै विजेता खेलाडी, प्रशिक्षक र सहभागी संघलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख रुपैयाँ पुरस्कार रकम दिएको राखेपले जानकारी दिएको छ।

सागका बेला परिषद्ले एक अर्व ३७ करोड, २७ लाख रुपैयाँ आम्दानी गरेको थियो। त्यसमा नेपाल सरकारबाट एक अर्व २३ करोड, टिकट विक्रिबाट दुई करोड ६७ लाख, विज्ञापनबाट करिव २१ लाख, सहभागि देशबाट एक अर्व ३७ करोड २७ लाख रुपैयाँ आम्दानी भएको राखेप सदस्य सचिव सिलवालले जानकारी दिए।

१३ औं साग गत वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो। घरेलु भूमिमा भएको सागमा नेपालले कुल २ सय ६ पदक जितेको थियो। जसमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here