बिभिन्न दलका नेताहरुले प्रतिपक्षीलाई सम्वादमार्फत नै सहमतिमा ल्याई संसद सञ्चालन गर्न सभामुख अग्नी सापकोटालाई सुझाव दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सर्वदलीय बैठकमा दलका नेताहरुले एमालेसहितको अर्को बैठक राखेर मतभेद अन्त्य गर्दै संसद सञ्चालन गर्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । संसदमा देखिएको गतिरोध अन्यका लागि सभामुखले सर्वदलीय बैठक आह्वान गरेका थिए भने एमालेले बैठक बहिष्कार गरेको थियो ।

एमालेले नै संसद अवरुद्ध गरेको र सर्वदलीय बैठकमा पनि सहभागी नभएकाले कुनै ठोस निष्कर्ष निस्कन नसकेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताईन ।

उनले एमालेसहित पुन बैठक राखेर सहमति खोज्न सुझाव दिएको बताईन। बैठकमा संसद्मा जारी अवरोध खुलाउनका लागि अधिकतम पहल गर्ने सभामुखले बताएको पौडेलले जानकारी दिईन ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बैठकमा एमाले सहभागी नभएका कारण बिना निष्कर्ष टुंगिएको जानकारी दिए । एमालेसँग फेरी पनि संवादको प्रयास गर्नुपर्ने सुझाव रहेको उनको भनाई छ ।

सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षि एमालेले संघीय संसदको अधिवेशन चालू भएदेखि दुवै सदनमा अवरोध गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here