युवा ब्याटसम्यान कुशल भुर्तेल र रोहितकुमार पौडेलको अर्धसतकसँगै आइसीसी विश्वकप क्रिकेट लिग-२ शृंखला अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा नेपालले सानदार विजयी सुरुवात गरेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार नेपालले बलियो अमेरिकालाई युवा ब्याटसम्यान कुशल र रोहितको अर्धसतकसँगै ५ विकेटले पराजित गरेको हो ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले  ६ बल बाँकी छँदै ५ विकेट गुमाएर पुरा गर्‍यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन जोडे । आफ्नो करियरकै उत्कृष्ट ब्याटिङ गरेका कुशलले ३ छक्का र ३ चौका प्रहार गरे  ।

रोहितले अर्धशतकसहित ६२ रन बनाए । ८७ बल खेलेका रोहितले ३ छक्का र २ चौका प्रहार गरे ।  नेपालका लागि विकेट किपर तथा ब्याटसम्यान विनोद भण्डारीले ३७, आसिफ शेषले २३ र ज्ञानेन्द्र मल्लले १७ रन बनाए । नेपालका कुशल मल्ल १ रन बनाएर आउट भए भने करण केसी १ रनमा अभिजित रहे।

अमेरिकाका निसर्ग पटेल र नोस्थुश केन्जिगेले समान २/२ विकेट लिए । सौरभ नेत्रभाल्करले १ विकेट लिए ।

यसअघि ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ रोजेको अमेरिकाले मोनाङ्क पटेलको शतकमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियाे ।

अमेरिकाका ब्याटसम्यान तथा विकेट किपर मोनाङ्क पटेलले सर्वाधिक १०० रन बनाए । मोनाङ्कले ११४ बल खेल्दै १ छक्का र ९ चौका प्रहार गरेका थिए । मोनाङ्कलाई नेपालका विक्रम शोवले १०० रनमा कुशलको हातबाट क्याच आउट गराएका थिए ।

निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, स्टेभन टेलोर १४, नोस्थुस केन्जीगेले १३ तथा जस्कारना माल्होत्राले ११ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी र विक्रम सोवले सर्वाधिक २–२ विकेट लिए । १० ओभर बलिङ गरेका भारीले ३१ रन खर्चिएर २ विकेट लिए । यस्तै १० ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै ३५ रन खर्चिए ।

अर्का तीब्रगतिका बलर विक्रमले ६ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर २ विकेट लिए ।

जितसँगै नेपालले ५ खेलबाट ३ जित र २ हार समित ६ अंक बनाएको छ।

ओमान शृङ्खला आगामी असोज ४ गतेसम्म सञ्चालन हुने छ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्ने छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्यूगिनीसित दुई एक दिवसीय खेल खेलेको थियो। नेपाल दुवै खेलमा विजयी भएको थियो ।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् ।

लिग–२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग गत वर्ष चार खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो । नेपालले दुई खेलमा अमेरिकालाई हराएको थियो भने बाँकी दुई खेलमा ओमानसित पराजित भएको थियो ।

पाँचौँ खेलमा नेपालले अमेरिकालाई हराउँदै ६ अङ्क जोडेको छ । नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ । यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईमा हार व्यहोर्दै १६ अङ्कसहित शीर्षस्थानमा छ ।

अमेरिका १३ खेलमा ६ खेलमा जित र सातमा हारसहित १२ अङ्क जोड्दै दोस्रो स्थानमा छ । स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।

स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ ।

यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो ।

पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् ।

लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् । नेपालले आज घरेलु टोली ओमानसित प्रतिस्पर्धा गर्ने छ । उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here