प्रमुख प्रतिपक्षि नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

मंगलबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राखेको उक्त प्रस्ताव स्वीकृत गरिएको हो । बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले नारावाजी गर्दै वेल घेराउ गरेका थिए । नारावाजीकाबीच सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए ।

नारावाजीकैबीच बिधेयकमाथि भएको सामान्य छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले एमसीसी नेपालको हितमा नरहेको भन्दै यसलाई पारित गर्न नहुने बताएका थिए ।

जवाफमा अर्थमन्त्री शर्माले छलफलका लागि धन्यवादमात्रै दिए । त्यसलगतै सभामुखले उक्त बिधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

त्यस्तै बैठकले २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शमशेर जवरा र २०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातीक सदस्यमा निर्वाचित मान बहादुर महत्तोको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक असोज चार गते बोलाइएको छ । सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउदै प्रतिपक्षि एमालेले लगातार सदनमा अवरोध गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here