माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

प्रतियोगिताको आफ्नाो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरमा हराउँदै फाइनलको सम्भावना बलियो बनाएको हो। अब नेपालले बाँकी दुई खेलमा दुबै खेल बराबरी खेले या कुनै एकमा जित हात पारे पनि फाइनलमा पुग्नेछ ।

मालेको राष्ट्रिय रंगशालामा सोमबार राति भएको खेलमा नेपालका लागि सुमन लामा अन्जन विष्ट र आयुष घलानले एक-एक गोल गरे।

खेलको सुरूवातमा श्रीलंकाले नेपाललाई दबावमा राखेको थियो । जसका कारण उसले १० मिनेट भित्र नै दुई वटा फ्रिकिक पाएको थियो । तर उसको दुबै फ्रिकिकलाई नेपालको डिफेन्सले विफल बनायो ।

खेलको १० औं मिनेटमा रेफ्रीको निर्णयमा औंला उठाएका नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहेलो कार्ड पाएका थिए। १९ औं मिनेटमा श्रीलंकाले राम्रो मुभ बनाएको थियो । उसका डिसिल्भाले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

२२ औं मिनेटमा नेपालले राम्रो अवसर पाएको थियो । तर माल्दिभ्सले हुलमुलमा नेपालको प्रहारलाई विफल बनायो। २४ औं मिनेटमा श्रीलंकाका डि सिल्भाले गरेको प्रहार पोष्टको माथिबाट बाहिरीयो ।

३१ औं मिनेटमा नेपालले खेलमा अग्रता बनायो । श्रीलंकन् डिफेन्सको कमजोरीको फाइदा उठाउँदै नेपालका लागि सुमन लामाले गोल गर्न सफल भए। उनको प्रहारलाई श्रीलंकन गोलकिपरले बचाउन सकेनन्। नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्रबाट गोल गरेका थिए।

३७ औं मिनेटमा नेपालले अर्को अवसरको सिर्जना गरेको थियो । नेपाली स्ट्राइकर नवयुग श्रेष्ठले डिबक्समा पाएको बललाई श्रीलंकन गोलकिपरले मुस्किलले बचाए। ४१ औं मिनेटमा सुमन अर्यालको जोडदार प्रहारलाई श्रीलंकन गोलकिपरले बचाए। ४४ औं मिनेटमा श्रीलंकाको प्रहारलाई नेपाली गोलकिपर किरणले बचाए।

पहिलो हाफमा एक शून्यको अग्रता बनाएको नेपालले दोस्रो हाफका सुरुवातमा नै विशाल राईको स्थानमा आयुष घलानलाई मैदानमा प्रवेश गराएको थियो ।

खेलको ४७ औं मिनेटमा नेपाली स्ट्राइकर अन्जन विष्टको फ्रिकिकलाई श्रीलंकन गोलकिपरले मुस्किलले बचाए। त्यसपछि लगत्तै कर्नरबाट आएको बललाई पनि श्रीलंकन गोलकिपरले बचाए ।

५१ औं मिनेटमा नेपालले खेलमा दुई शून्यको अग्रता बनायो। सब्सिच्युट खेलाडी आयुष घलानले मिलाइदिएको बलमा नवयुग श्रेष्ठको प्रहारलाई श्रीलंकन गोलकिपरले बचाए पनि रिबाउन्डमा अनमार्क रहेका अन्जन विष्टले गोल गर्न सफल भए।

५६ औं मिनेटमा श्रीलंकाले उत्कृष्ट मुभ बनाएको थियो। तर श्रीलंकाका काभिन्तु हिसानले गरेको प्रहारमा नेपाली गोलकिपर बिट गरेर प्रहार गरेको बललाई सुमन अर्यालले टचलाइनबाट बचाए।

५७ औं मिनेटमा श्रीलंकाले गोल गर्दै अन्तर दुई एकमा पुर्‍यायो। उसका लागि मार्लिन ह्यामिल्टनले गोल गर्न सफल भए। उनले डि एरिया बाहिरबाट गरेको शक्तिशाली प्रहार  नेपाली गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन्।

६२ औं मिनेटमा श्रीलंकाको अर्को उत्कृष्ट मुभलाई नेपाली डिफेन्डर गौतम श्रेष्ठले विफल बनाए। ६४ औं मिनेटमा नेपालले सन्तोष तामाङ र मनिष डाँगीलाई पनि मैदान प्रवेश गरेको थियो ।

६७ औं मिनेटमा नेपालले काउन्टरमा बनाएको उत्कृष्ट मुभलाई श्रीलंकन गोलकिपर सुजल परेराले बचाए। काउन्टरमा सुमन लामाको प्रयासलाई परेराले ब्लक गर्दा त्यसपछि मनिष डाँगीको हेडरमा आयुष घलानले डिबक्समा पाएको मौकामा गोलकिपर परेराले नै उत्कृष्ट बचाउ गरे ।

७४ औं मिनेटमा मनिष डाँगीको प्रहारलाई श्रीलंकन अनुभवी गोलकिपर सुजल परेराले बचाए। त्यसको अर्को मिनेटमा आयुष घलानको हेडको प्रयासलाई परेराले नै बचाए।

७६ औं मिनेटमा श्रीलंकाको प्रहारलाई किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे। ८६ औं मिनेटमा युवा खेलाडी आयुष घलानले गोल गर्दै नेपाललाई तीन एकले अगाडि राखे। उनको यो राष्ट्रिय टिमका लागि पहिलो गोल हो ।

खेलको इन्जुरी समयमा श्रीलंकाले पेनाल्टी पायो। नेपालका गौतम श्रेष्ठले डिबक्समा हातले बल छोएपछि पाएको पेनाल्टीलाई डि सिल्भाले गोलमा परिणत गरे।

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र नेपालले तीन एकको जित निकाल्यो। यो जितपछि नेपाल प्रतियोगितामा दुई खेलमा ६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ। यसका साथै उसले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । प्रतियोगिताको तेस्रो खेलमा नेपालले भारतसँग बराबरी खेले पनि फाइनलमा पुग्नेछ। श्रीलंकाको प्रतियोगितामा लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका बंगलादेसँग १-० गोलमा पराजित भएको थियो। हिजै भएको पहिलो खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here