नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्ध शनिबार हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन सबैमा अपील गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्धकाकारण प्रधानमन्त्री ओलीले पुस ५ गते गरेको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले जारी राखेको चरणबद्ध विरोध प्रदर्शन अन्तरगत शनिबार हुने स्थानीय तह केन्द्रित विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाई प्रभावकारी रुपमा सफल बनाउन देउवाले आग्रह गरेका हुन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा अपील गरेका हुन्।

पुस ५ गते संसद विघटनको घोषणा लगत्तै कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरुको बैठकले उक्त कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै यसको विरोध गर्दै ताजा जनादेशका लागि जनतामा जान तयार रहेको बताएको थियो।

संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको बताउँदै पार्टीको सबै तहका नेता, कार्यकर्ताहरुसँगै समस्त लोकतन्त्रवादी जनतालाई आफ्नो विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पनि देउवाले अपील गरेका छन्।

यसअघि कांग्रेसले पार्टी निर्णय बमोजिम जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सफलतापूर्वक सम्पन्न गरिसकेको छ। भोलि शनिबार ७५३ स्थानीय तहमा विरोध प्रर्दशन गरेपछि लगत्तै देशभरीका वडा तहमा पनि विरोध कार्यक्रम गर्ने निर्णय कांग्रेसले पुस ९ गते नै गरिसकेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here