निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावलीको सूचना प्रकाशित गर्ने तयारी गरेको छ । आइतबार निर्वाचनको तयारीका बारेमा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दै आयोगले मतदाता नामावली अध्यावधीक गर्ने कार्य स्थानीय तहमा माघ १५ देखि २१ गतेसम्म सञ्चालन गर्ने र १५ गते मतदाता नामावलीको सूचना प्रकाशित गर्ने तयारी भएको जानकारी गराएको हो ।

सोहि समयमा नामावली सच्चाउन सकिने आयोगले जनाएको छ । यस्तै मतदान केन्द्र र तयारी बारेमा छलफल भएको थियो ।

छलफलमा सहभागी नेकपा प्रचण्ड–नेपाल समूहका नेता राजेन्द्र पाण्डेले छलफलमा मतदाता नामावली प्रकाशन, त्रुटि सच्याउन निवेदन दिने, मतदान केन्द्रलगायतबारे छलफल भएको जानकारी दिए । त्यस्तै उनले संसद बिघटनको बिषय सर्वोच्चमा रहको अवस्थामा चुनाव हुने अवस्था नरहेकाले चुनावको नाममा अनावश्यक खर्च नगर्न सुझाव दिएको बताए ।

त्यस्तै कांग्रेस नेता आनन्द ढुङ्गानाले मतदान केन्द्रमा केन्द्रीत रहेको आयोगले सुझाव मागेको जानकारी दिए । उनले आयोगले निर्वाचनको तयारीको काम सहज रुपमा गर्न पाउनुपर्ने आफुहरुको धारणा रहेको बताए ।

छलफलपछि आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको तयारीका बारेमा जानकारी गराई राय सुझाव लिने काम गरेको बताए । आयोगको कार्यक्रममा सहभागी भइदिन पनि आग्रह गरिएको उनले बताए । त्यस्तै उनले निर्वाचन कार्यक्रमको प्रस्तावित मितिका बारेमा पनि जानकारी गराएको उहाले जानकारी दिए ।

सरकारले संसद बिघटन गरि आउँदो वैशाख १७ र १७ गते मध्यावधिक चुनावको घोषणा गरेको छ । त्यसलगत्तै आयोग चुनावको तयारीमा जुटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here