हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको हो। शेरबहादुर देउवाले विघटन गरेको संसदलाई आन्दोलनबाट फर्काएको हो नि। फेरि इतिहास नदोहारियोस् २०६२/६३ को जस्तो।
अदालतले संसद विघटनलाई सदर गरोस् अनि फेरि ठूलो आन्दोलन होस् अनि त्यही आन्दोलनका बलमा संसद पुनःस्थापना गर्नुपर्ने दिन नआओस्। यो चुनाव त हुनेवाला छैन्।

बैशाखको २७ गतेपछि शासनको अथोरिटी (अधिकार) को संग हुन्छ? चुनाव गर्छु भनेकाले बैशाख २७ गतेसम्म केपी ओलीसंग शासन गर्ने अधिकार होला तर, त्यो भन्दापछि शासन गर्ने अधिकार को संग हुन्छ? त्यसो हुँदा मुलुकमा अराजकता आउँछ । त्यसपछि यो राज्यलाई नेत्रविक्रम चन्दहरुले पनि च्यालेन्ज गर्ने भए, सेनाले पनि च्यालेन्ज गर्ने भए।

जोसंग हतियार छ उसैले राज्यलाई च्यालेन्ज गर्ने भए। जो संग हतियार छ उहि शक्तिशाली हुने दिन आउँछ। को संग हुन्छ शासन गर्ने अधिकार? मुलुकमा यस्तो अवस्था आउँदै छ।

यो अवस्था आउँदै गर्दा नेपाली कांग्रेसले मुलुकलाई वेवारिसे छोड्नु हुदैन। मेरो पार्टीमा पार्टीका नेताहरुसंग यही आग्रह हो। नेपाली कांग्रेस जस्तो पार्टीले मुलुकमा संकट भएका बेलामा कांग्रेस रमिते बन्न हुँदैन। कांग्रेस देशको वारेस हो। कांग्रेस देशको भरोसा हो। हिजो राजा थिए। आजको भरोसा राजनीतिक दल नै हुन्। राजनीति दलहरुलाई पनि नेपाली जनताले भरोसा गरेका थिए।

ती जनतालाई धोका दिएर कता कता पुगे। त्यसैले मुलुक र जनताको भरोसा कांग्रेस नै हो। कांग्रेस सहि बाटोमा सही ढंगले उभिएन भने यसलाई भरोसा किन गर्ने? जनताले भरोसा नै गर्ने ठाँउ पाएनन् भने के हुन्छ? अब हामीले भन्नुपर्छ मुलुक र जनतालाई भरोसा दिन्छौ। संविधान र लोकतन्त्र जोगाउँछौ। नेपाली जनताको ७० वर्ष सम्मको पसिना खेर जान दिँदैनौ। यो परिवर्तन हामी जोगाउँछौ भनेर कांग्रेसले भन्नुपर्छ। यो संविधान र यो लोकतन्त्र जोगाउनका लागि हामीले कुनै पनि मुल्य चुकाउनु हुँदैन्।

त्यसो भएका हुनाले यो प्रतिनिधि सभाको पुनःस्थापना हुनुपर्छ। अहिले हेर्दा त सरक्क चुनाव हुन्छ हामी जितिहाल्छौ भन्ने होला। संसद पुनःस्थापना हुँदा मन्त्री बन्ने सांसद बन्ने सबै उनीहरु नै हुन्। चुनाव भयो भने हामी जितौँला तर, अहिले हामीले तत्कालिक फाइदा हेर्ने कि मुलुकलाई संविधानलाई र लोकतन्त्रलाई हेर्ने?

मैले पार्टीका ३ वटा प्रस्ताव राखेको थिए, संवैधानिक अंगका नियुक्तीको खारजी, संसदको पुनःस्थापना र प्रदेशमा दर्ता भएको अविस्वासको प्रस्तावको पक्षमा मतदान गरौ भन्ने। तर, मेरो प्रस्ताव पास भएन्। पार्टी निर्णयविहिन भएर बसिराखेको छ। हामी निर्णयविहिन बन्ने होइन। हामीले त मुलुकलाई दिशा दिने हो मुलुकलाई बाटो देखाउने हो।

(धरान उपमहानगरपालिकामा रहेको वीपी पार्कमा वीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको मन्तब्य २०७७ फागुन ७ गते)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here