नेपाली कांग्रेसका जिम्मेवार नेताहरुको व्यवस्थापन कमजोरी र केही नेता, कार्यकर्ताले व्यवहारिक प्रक्रिया र मर्यादा भुल्दा बिहिबारदेखि सुरु भएको कांग्रेसको प्रथम महाधिवेशनको उद्घाटन कार्यक्रममा भद्रगोल र होहल्ला मच्चिँदा जात्रा बनेको छ।

यो घटना हो, बिहिबार गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित प्रथम महाधिवेशन उद्घाटन कार्यक्रम स्थलको।

पार्टी केन्द्रीय पदाधिकारीहरुको पूर्व निर्धारित निर्णय बमोजिम गण्डकी प्रदेशको अधिवेशन गर्ने गराउने जिम्मेवारी पार्टी नेता गोपालमान श्रेष्ठले पाएका थिए।

उक्त प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टी नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालादेखि गोविन्द भट्टराई लगायतका केन्द्रीय नेताहरु अतिथिको रुपमा मञ्चमा रहेका थिए।

कास्कीका निवर्तमान सभापति कृष्ण केसीले सञ्चालन गरेको उक्त कार्यक्रममा केन्द्रीय सदस्यको हैसियतले पर्वतका नेता अर्जुनप्रसाद जोशीलाई बोल्न दिए। तर, संयोगवस, उक्त अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका नेता श्रेष्ठ पार्टी सभापति शेरबहादुर देउवा निकट रहनु र नेता जोशी देउवाकै समूहबाट उक्त प्रदेशको सभापति पदका बन्नुलाई पौडेल पक्षले विवादको मसला बनायो।

कार्यक्रम चलिरहेकै बेला कास्कीका पूर्व सभापति यज्ञबहादुर थापाले मञ्चमा पुगेर माइक कब्जा गर्दै बीपी, गणेशमान जस्ता नेता आउँदा बोल्न पाएको यज्ञबहादुर थापाले अहिले बोल्न किन नपाउने भनि प्रतिवाद गरे।

यसरी थापाले प्रतिवाद गरेर उपस्थित आफ्ना कार्यकर्तालाई होहल्लामा उकास्नुको अर्को कारण पनि थियो। त्यो हो, उनी आफू पनि पौडेल समूहबाट प्रदेश सभापति पदको आकांक्षी रहनु।

थापाका साथै संस्थापन इतर समूहमा रहेका देवराज चालिसे लगायतका अन्य आकांक्षीले पनि आफूहरुले बोल्न पाउनु पर्छ भनि होहल्ला र नारावाजी गर्न थालेपनि कार्यक्रम सञ्चालक केसीले सभापतिका आकांक्षीका रुपमा रहेका थापा, चालिसे र शुक्रराज शर्मालाई पनि बोल्ने समय दिए। जहाँ उनीहरुले सभापति देउवा र उनको पक्षले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाए।

जब कि उक्त कार्यक्रममा जोशीले बोल्ने अवसर प्रदेश सभापतिको उम्मेदवारको रुपमा भन्दा पनि उक्त प्रदेशबाट केन्द्रीय सदस्यका रुपमा रहेको कारणले बोल्न पाएको कार्यक्रम आयोजकको दावी छ।

यदी जोशी प्रदेश सभापतिको उम्मेदवार हुँदैनथे अथवा उनले चाहेको भए प्रदेश अधिवेशन गराउन अन्य प्रदेशहरुका नेताहरुले जस्तै जोशीले पनि गण्डकी प्रदेश अधिवेशन संयोजकको हैसियतमा गोपालमानको स्थानमा पुग्नसक्ने हैसियत थियो। तर, गुटगत राजनीतिले विक्षिप्त जिम्मेवार नेताहरुले अर्को पक्षमाथि जाइलाग्ने नाममा जोशीको अपमान गर्ने कार्य गरेकामा आयोजकले दुःख व्यक्त गरे।

यसरी उद्घाटन कार्यक्रममा आफ्नै समूहका जिम्मेवार नेताहरुले होहल्ला मच्चाइरहँदा मञ्चमा प्रमुख अतिथि र विशिष्ट अतिथिका रुपमा बसिरहेका नेता पौडेल र महामन्त्री कोइराला मुकदर्शक जस्तै बनेर रमिता हेरिरहे।

त्यतिमात्र होइन, सभालाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले १४औं अधिवेशनको प्रक्रियालाई जात्राको संज्ञा दिएर नेतृत्वलाई दोष थोपार्ने कार्य गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here