नेपाली कांग्रेसका सांसद मीनबहादुर बिश्वकर्माले संसदलाई नेकपा एमालेका नेता तथा सांसदलाई उनीहरुकै अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै कागले पछाडी नदौडिएर आफ्नो कान छाम्न सुझाव दिएका छन्।

अमेरिकासँग नेपाली सेनाको सहकार्यका लागि अघि सारिएको विवादस्पद स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को विषयलाई लिएर विपक्षी दल एमालेका नेता तथा सांसदहरुले गर्दै आएको विरोधप्रति लक्षित गर्दै नेता विश्वकर्माले यस्तो सुझाव दिएका हुन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस नेता विश्वकर्माले विद्यार्थीकालमा चुकुल लगाएर अध्यारो कोठामा कार्यकर्तालाई प्रशिक्षण दिँदा संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भने पनि अहिले संसदमा आइसकेपछि त्यही कुरा गरेको खण्डमा यसलाई देशभित्र र बाहिरबाट पनि मूल्यांकन हुने बताए।

एसपिपी सम्झौताका लागि नेपाली सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्र पठाउँदा स्वयं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा रक्षामन्त्री मात्र होइन, नेता प्रदिप ज्ञावाली परराष्ट्र मन्त्री रहेको बताउँदै सत्तामा छँदा आफैले गरेको कार्यको विपक्षमा पुगेपछि थाहै नदिई गरिएछ भन्न नैतिकताले नमिल्ने दाबी गरे।

‘हिँजो सरकारमा आफू बस्दा जुन जुन कुरा गरेको थियो आज संसदको प्रतिपक्षमा पुगेपछि होइन, छैन, गरेको होइन र खबरदार गर्लास् भन्ने कार्य गर्दैछ,’ उनले उदाहरण दिँदै भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०१५ अक्टोवर ११ मा प्रधानमन्त्री बन्नु हुन्छ। अनि २०१५ अक्टोवर २७ मा नेपाली सेनाका प्रमुख प्रधानसेनापतिले चिठ्ठी लेख्नु हुन्छ। जुन चिठ्ठीमा तल लेखिएको छः सिसि भनि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय। जहाँ परराष्ट्र मन्त्री प्रदिप ज्ञावाली र रक्षा मन्त्री स्वयं प्रधानमन्त्री हुनुहुन्छ। अनि उहाँलाई थाहा नभइकन लेखियो भनेर बजारमा हल्ला पिट्नु हुन्छ। यो हामीलाई मात्रै भनेको हो कि? आम नेपालीलाई भनेको हो कि? एशियाकालाई भनेको हो कि सबैलाई भनेको हो कि? अथवा जहाँबाट उहाँहरुले गोप्य रुपले गर्नुहुन्छ त्यो भनेको हो?’

एमाले नेता भीमबहादुर रावलप्रति लक्षित गर्दै सांसद विश्वकर्माले उहाँहरुको तर्क सुन्दा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यही रोष्ट्रममा उभिएर विगतमा भनेको कुरा याद आएको बताए।

उनले भने, ‘पूर्व प्रधानमन्त्री ओलीले यही रोष्ट्रमबाट भन्नु भएको थियो, कि हाम्रा साथीहरु के पढेर आउँछन्? कम्तिमा कागले कान लग्यो भन्दा त, यसो कान छाम्नु नि। चिरिक्क त दुख्छ होला नि। रगत त आउँछ होला नि। सुटुक्कै लगेछ भने पनि यसो छाम्दा थाहा त पाइन्छ नि। भनेर सायद यस्तै माननीयजीहरुलाई भन्नु भएको होला।’

विश्वकर्माले एमाले सांसदहरुलाई पुनःस्मरण गराउँदै भने, ‘आफैले गरेको कामको आफैँले उल्टो सम्प्रेषण गरेर संसदीय व्यवस्था र संसदको गरिमामा लज्जाबोध गराउन थाल्नु भयो भने नेपालीमा एउटा उखान छ, के गर्नेलाई भन्दा के गर्नेलाई लाज भनेजस्तो माननीयहरुको अभिव्यक्तिले हामीलाई लज्जाबोध गराएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here