अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तराष्ट्रिय मान्यताअनुरुप नै घाटा बजेट तयार गरिएको भन्दै त्यसमा चिन्ता नगर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नका जवाफ दिदै खतिवडाले आर्थिक स्थायित्व र ऋणलाई समाञ्जस्यमा राखेर नै बजेट तयार गरिएको बताए। मन्त्री खतिवडाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको शुत्रअनुसार प्रादेशिक सन्तुलन मिलाएर बजेट तयार गरेको पनि जानकारी दिए।

खतिवडाले आफ्नो बजेट समाजवादी भएको भन्दै त्यसबाहेकका अरु कुनै वादलाई हेरेर बजेट नबनाइएको उल्लेख गरे। उनले आर्थिक वर्षको अन्त्यमा मात्रै पुँजीगत खर्च हुने कुरामा आलोचना भोग्न तयार रहेको बताए। उनले आगामी वर्षबाट असारमा मात्र हुने विकास खर्चलाई तथा निर्माण कार्यलाई वर्षभरि निर्माण कार्य सञ्चालन गर्ने गरी सरकार अघि बढ्ने धारणा राखे।

बैठकमा सांसदहरु उठाएका प्रश्नको जवाफ दिदै शहरी विकास मन्त्री महमद इस्तिहाक राईले उपत्यकामा आफू मन्त्री भएर आएपछि कुनै शहरलाई स्मार्ट सिटी घोषणा गर्ने कार्य नगरेको भन्दै बरु हिमाली क्षेत्रमा अहिलेसम्म सरकारको ध्यान नगएकोले हिमाली क्षेत्रहरुमा मात्र नयाँ शहर अघि बढाउने घोषणा गरेको बताए।रासस