फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्वितीय अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रुपमै पार्टी विभाजनको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन्।

नेकपाका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा दाहालले प्रधानमन्त्री ओलीकै कारण जनता निराश भएको र पार्टी विभाजनको संकटमा रहेको बताए।

साथै उनले निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता गर्ने कार्य स्वयं प्रधानमन्त्री एवं अध्यक्ष ओलीकै संक्रियता र पहलमा भएको गम्भीर आरोप लगाए।

‘यहाँ मैले सबैकुरा ठिकठाक छ भनेर हुँदैन। सत्य कुरा जे हो त्यो भन्नु पर्छ। यहाँ पार्टीको बैठक चल्दैगर्दा निर्वाचन आयोगमा नेकपा एमालेको नाममा पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको समेतको सक्रियता र पहलमा भएको छ। त्यसकारण यसले संकटलाई व्यक्त गरेकै छ। यो सबैले देखेकै कुरा हो,’ दाहालले भने।

साथै उनले आफूहरु पार्टीलाई एकताबद्ध बनाइराख्न छलफल गरिरहेकै समयमा प्रधानमन्त्री ओलीले देशभरी केही कार्यकर्तालाई सडकमा उतारेर नारा जुलुस गर्न र नेताहरुविरुद्ध जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएको आरोप लगा।

पार्टीभित्रको आन्तरिक विवादका कारण देशभरीका नेता, कार्यकर्ता र जनता के गर्ने भनि चिन्तित भइरहेको बताउँदै दाहालले सबैलाई धैर्य गरेर बस्न र एकताको पक्षमा उभिन आग्रह गरे।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने तत्कालिन नेता पुष्पलालको स्मरण गर्दै दाहालले विचार, सिद्धान्त र नीति पुष्पलालको तर, २०१४ सालमा नेतृत्व राजावादी केशरजंग रायमाझीको भएकै कारण १७ सालको दुर्घटना भएको भन्दै अहिले पनि विचार र नीति एउटाको नेतृत्व अर्कै (ओली)को भएको बताए।

‘आजको समस्याको चुरो कही त्यतै कतै पो छ कि? १४ सालमा पुष्पलालको नीति पारित भएर राजा निटक रायमाझीको नेतृत्व भएको जस्तै नीति एउटाको नेतृत्व अर्कैको भएपछि १७ सालमा जस्तै दुर्घटनामा जान सक्छ,’ दाहालले भने।

अहिले पार्टीको भविश्य, स्थायी कमिटी बैठक, महाधिवेशन के हुन्छ भन्ने तमाम जिज्ञासा कार्यकर्ता र जनतामा रहेको बताउँदै उनले चुनावअघि गठबन्धन गरी साझा उम्मेदवारसहित साझा घोषणापत्र लिएर जाँदा जनतामाझ व्यक्त प्रतिबद्धता सरकारले पूरा गर्न नसेको आरोप लगाए।

यसरी जनतामाझ व्यक्त प्रतिबद्धता पूरा हुन नसक्नुको पछाडि सामूहित नेतृत्व र व्यक्तिगत जिम्मेवारीका आधारमा हिड्नु पर्ने कम्युनिष्ट पार्टीभित्र व्यक्तिको हावी हुँदाको परिणाम भएको बताए।

जनतालाई सुशासनको आश्वासन दिएका भएपनि पार्टीभित्र विचार भन्दा शक्तिलाई प्राथमिकता दिने अवस्था आएकोले पार्टीले सत्ता सञ्चालनमा नियन्त्रण गर्न र पार्टीको बैठक समेत बस्न नसकेको बताए।

बिहानमात्रै ओलीसँग डेढघण्टा भेटवार्ता गरेर कार्यक्रममा सहभागी हुन पुगेका दाहालले आफू अर्को कार्यक्रममा जान हतार भएकोले धेरै नबोल्ने भन्दाभन्दै पनि करिब ३५ मिनेट बोल्दै अधिकांश समय ओलीविरुद्ध खनिए।

प्रधानमन्त्री ओली र उनका समर्थकले आफूविरुद्ध भारतीय दलाल भन्न आरोप लगाएको विषयमा गम्भीर आपत्ति प्रकट मात्र गरेनन् स्वयं ओलीले नक्सा सार्वजनिक गर्न ढिलाई गरेर पनि राष्ट्रवादीको नाममा देवत्वकरण गर्ने काम भइरहेको बताए।

उनले भने, ‘जब भारतले नेपालको भूभाग समेत गाभेर नक्सा निकाल्यो त्यतिबेला म जे भएपनि कार्यकारीको भूमिकामा भारतले मिचेको भूमि छाड्न सकिन्न भनि पुसमा स्थायी समिति बैठक मार्फत तत्काल नक्सा निकाल्न सरकारलाई निर्देशन दियौँ। सरकारले तर, नक्सा भन्दा भूमि नै फिर्ता ल्याउने कुरा गर्यो र नक्सा छिटो ल्याएन। अन्त्यमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिनको बिहान बैठक बसेर नक्साको विषय समावेश गरेको हो, उनले भने।

पार्टीले निर्णय गर्दा नक्सा प्रकाशित भयो, संविधान संशोधन भयो र जनता खुशी भए। यसले पार्टीको निर्णय कति प्रभावकारी हुन्छ भन्ने प्रमाण भएको बताए।

‘तर, जसले नक्सा प्रकाशित गर्न ढिला गर्न हुन्न भनि निर्णय गर्यो र गरायो उनीहरु राष्ट्रघाती या दलाल अनि जसले यो प्रकाशित गर्न यतिका महिना ढिला गरायो उसको देवत्वकरण हुन सक्दैन। हामी सबैले बुझ्नु पर्नेछ यो। यसो भयो भने त्यहाँ इमान्दारिता र पारदशीृता भन्ने भएन। त्यहा विवेकले काम गरेको भन्ने हुँदैन,’ दाहालले भने।

त्यसैगरी उनले पार्टीभित्र कसैले २१औं शताब्दिको जनवाद जिन्दावाद वा माओवाद जिन्दावाद वा जनताको बहुदलीय जनवाद जिन्दावाद भन्यो भने यसले पार्टी एकताबद्ध बनाउन नसक्ने बताए।

त्यसैगरी अर्का नेता माधवकुमार नेपालले आफू नै सर्वोपरी हो र आफू बाहेक दुनियाँमा केही छैन भन्ने अहंकार लिने व्यक्तिको पतन बाहेक केही नहुने भन्दै ओलीको पतन हुने बताए।

साथै ओलीले पार्टी निर्णय नमान्न गरेको हठप्रति लक्षित गर्दै नेपालले बहुतमतको निर्णय मान्दिन भन्ने कसैलाई छुट नभएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here