मातृ शिशु सेवाका लागि चौधरी फाउण्डेसनद्वारा स्वास्थ्य उपकरण प्रदान

चौधरी फाउण्डेसनले प्रसुती सेवा केन्द्रहरुलाई स्वास्थ्य सम्बन्धी विविध उपकरणहरु उपलब्ध गराएको छ।
फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले आफ्नो संख्थाको तर्फबाट व्यवस्था गरिएका सामाग्रीहरु सुरक्षित मातृत्व संजाल महासंघका महासचिव रविन्द्रबहादुर प्रधानलाई हस्तान्तरण गरेको फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कोरोना भाइरसको रोकथाम तथा स्वास्थ्यकर्मीको सुरक्षाको लागि अत्यावश्यक ६० थान पिपिई, ७ हजार ५०० थान मास्क, ६ हजार थान ग्लोब्स, ३० थान थर्मलगन, १ सय ६० लिटर सेनिटाइजर, १६ सय ८० थान सेनिटरी प्याड, ६ सय थान हात धुने साबुन लगायतका सामाग्री वितरण गरिएको छ।
महिलाहरुको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकारको रक्षाका लागि विविध कार्यहरु गर्दै आएको सुरक्षित मातृत्व संजाल महासंघले उक्त सामाग्री प्रदेश २ का विभिन्न ३० प्रसुती गृहहरुलाई उपलब्ध गराउने महासंघले जनाएको छ।
नेपाल दक्षिण एशियामा नै उच्च मातृ तथा शिशु मृत्युदर भएको मुलुक अन्तर्गत पर्दछ। सन् २०१६ को जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा प्रति एक लाखमा २ सय ३९ मातृ मृत्युदर रहेको छ। स्वास्थ्य उपकरणको अभाव हुँदा गर्भवती महिलाहरु चेकजाँचबाट नै वञ्चित हुनुपर्ने अवस्था रहेको र लकडाउनको अवधिमा ३१ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाउन पुगेको समाचार हालै सार्वजनिक भएको थियो।
यसमध्ये २ नम्बर प्रदेशमा भारतबाट आएको ठूलो जनसंख्या बसोबास गर्ने भएकाले कोरोना भाइरस संक्रमणका कारण मातृ तथा नवजात शिशुको स्वास्थ्य यस क्षेत्रमा अझ बढि जोखिममा रहेको छ।
उक्त प्रदेशमा सुरक्षित प्रसुती सेवा प्रवाह गर्न अग्रपंक्तिमा रही कार्यरत स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामाग्रीकै अभावमा उपचार नपाएर गर्भवती, सुत्केरी तथा नवजातशिशु कसैले अकालमै ज्यान गुमाउन नपरोस भनि उक्त सामाग्रीहरु उपलब्ध गराएकोे फाउण्डेसनले जनाएको छ ।
यसअघि चौधरी फाउण्डेसनले मुलुक भरिका विभिन्न १ सय १९ स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य उपकरण वितरण गरेको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय