हिमाल दैनिक
कोरोनाबाट मृत्यु भएकी महिलाको बच्चा सफललाई पढाउने दायित्व निर्वाह गर्दै मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट मृत्यु भएकी पहिलो महिला सावित्री तिमिल्सना चालिसेको नाबालक छोरालाई निःशुल्क पढाइदिने भएका छन्।

विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं ९ राम्चेकी सुत्केरी महिला चालिसेको छोरालाई मन्त्री बस्नेतले आफ्नै निजी खर्चमा निःशुल्क पढाइदिन लागेका हुन्।

विस २०७७ जेठमा चालिसेको मृत्यु हुँदा छोरा सफल नौ दिनको मात्र थिए। अहिले तीन वर्ष नाघेसँगै मन्त्री बस्नेतले सोमबार काठमाडौँको टोखा नगरपालिका वडा नं ९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका छन्।

सुत्केरी महिलाको निधन भएलगत्तै उनको ९ दिनको शिशुलाई पालनपोषण र शिक्षा दिक्षाको जिम्मा लिने सार्वजनिक घोषणा गरेका बस्नेतले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरे।

रकम हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाई खर्च आफूले बेहोर्ने जानकारी दिए।

मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने पनि बताए। उनले कोरोनाको समयमा नेपाल सरकारले अक्सिजन सिलिण्डर ल्याउन नसक्दा आफूले चीनबाट ल्याएर निःशुल्क बाँडेको समेत स्मरण गराए।

मृतकका पति विमल चालिसेले कोरोनाबाट आफ्नो श्रीमतिको ज्यान जाँदा मन्त्री बस्नेतले छोराको पढाईको जिम्मा लिएर मानवीय सहयोग गर्नुभएको भन्दै आभार व्यक्त गरे।

 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update