हिमाल दैनिक
अर्नब चक्रवातले देशभरको मौसममा बदलाब, सर्वसाधारणको जनजिवन प्रभावित

बंगालको खाडीबाट सुरुभएको चक्रवात ‘अर्नब’ले भारतीय भूभागमा विपत्ति निम्त्याउँदै बिहिबारदेखि नेपाल प्रवेश गरेलगत्तै देशभरकोे मौसममा एकाएक बदलाब आएको छ।

बिहिबार साँझदेखि नै देशको राजधानी काठमाडौं उपत्यकामा रातभर नै सिमसिमे पानी पर्दा शुक्रबारको मौसम बदली रहन पुग्यो। देशका विभिन्न स्थानमा कतिपय स्थानमा भारी र अधिकांश स्थानमा मध्यमखालको वर्षाका अतिरिक्त हिमाली क्षेत्रमा हिमपात समेत भएको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिएको जानकारी अनुसार, विगत २४ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा काभ्रको रोशी मौसम मापन केन्द्रमा ३३ मिलिमिटर वर्षा मापन भएको बताएको छ। कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा गण्डकी लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्ष भएको महाशाखाले बताएको छ। 

यसैगरी सोलुखुम्बुमा वर्षाको कारण हिमपात हुँदा जनजीवन प्रभावित हुने सम्भावना बढेको छ। 

अर्नबको कारण सुरु भएको वेमौसमी वर्षाले एकातिर हवाई तथा सडक यातायात सेवा प्रभावित हुने सम्भावनालाई मध्यनजर गर्दै विपद व्यवस्थापन समितिले समेत सर्वसाधारण यात्रुहरुलाई सतर्कता अपनाउन अनुरोध गरिसकेको छ।

उता, वर्षभरीको कमाइका रुपमा देशभरका किसानहरुले भित्र्याउन ठिक्क परेको धानवालीमा पनि वर्षाको कारण असर गर्दा आमकिसानहरुलाई चिन्ता बढाइदिएको छ।

मौसमविदहरुका अनुसार, बिहिबारदेखि देशभर सुरुभएको वर्षाको प्रभाव शनिबार दिनभरसम्म नै मध्यम र कहिकहिँ भारी रुपमा जारी रहेपनि भोली साँझदेखि रोकिने सम्भावना रहेको छ।    

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३